जरिवाना नतिरेपछि पर्साको पकाहामैनपुर गाउँपालिकाका पूर्वअध्यक्ष विजयकुमार चौरसियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुटपिट मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको फैसलाबमोजिम १० हजार जरिवाना नतिरेपछि चौरसिया पक्राउ परेका हुन्।
नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका चौरसियालाई पर्सा जिल्ला अदालतअगाडिबाट शुक्रबार ३ बजेतिर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।
कार्कीका अनुसार प्रहरीले अदालतको फैसला कार्यान्वयनका क्रममा जरिवाना नतिरेको आधारमा चौरसियालाई पक्राउ गरेको हो। उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने उनले बताए।