एमालेको निष्कर्ष– सरकारको काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद (पूर्णपाठसहित)

शुक्रबार, १९ असार, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद रहेको टिप्पणी गरेको छ। शुक्रबार ‘सरकारको वाचा र यथार्थ’को ६बुँदे समीक्षा सार्वजनिक गर्दै एमालेले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको हो।

महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्तिमार्फत प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोडिएका उल्लेख गर्दै सरकारको रुचि सस्तो चर्चा र विवादास्पद निर्णयहरूमा मात्रै देखिएको आरोप लगाएका छन्।

‘सुरुमा सबै योजनाहरू पूर्वनिर्धारित, व्यवस्थित र तयारी टोली (टिम)द्वारा पूर्ण गृहकार्यसहित आएका हुन् भन्ने भान पारियो। सार्वजनिक रूपमा यसले काम गर्ने शैली र थिति यस्तो हुनुपर्छ भन्ने भाष्य पैदा गर्ने कोसिस भयो। तर, तथ्यको आधारमा सय दिनको परिणामलाई विश्लेषण गर्दा, यो अवधिमा सरकारका काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सबै राजनीतिक दलका घोषणापत्रका आधारमा ‘राष्ट्रिय प्रतिबद्धता’ तयार गर्ने आकर्षक नारा अघि सारिए पनि व्यवहारमा त्यसको विपरीत नीति तथा कार्यक्रम सार्वजनिक एमालेको टिप्पणी छ।

संविधान संशोधनजस्तो गम्भीर विषयमा सहमति खोज्ने भनिए पनि कार्यदल गठन गर्नुपूर्व राजनीतिक दलहरूसँग न्यूनतम परामर्श नगरिएकोमा समेत एमालेले प्रश्न गरेको छ। सरकारले ‘अदृश्य’ स्वार्थ पूरा गर्न छद्म रूपमा कार्यदल बनाएको पोखरेलको आरोप छ।

निर्वाचनका समयमा प्रदेशलाई बलियो बनाउने वाचाविपरीत केन्द्रबाटै प्रत्यक्ष शासन चलाउने अभ्यास सुरु गरिएको आरोप लगाउँदै पोखरेलले प्रधानमन्त्री अधिकारकेन्द्रित गर्ने सोचका साथ अघि बढेका बताएका छन्।

सरकारले सुशासनका नाममा गैरकानुनी र प्रतिशोधपूर्ण तरिकाले राजनीतिक दलहरूमाथि आक्रमण सुरु गरेको एमालेको आरोप छ। ‘प्रतिस्पर्धी दलहरूलाई कमजोर बनाउने योजनामा सरकार सामाजिक सञ्जालमार्फत अफवाह फिँजाई माहोल तयार गर्ने र झुट्टा मुद्दामा धरपकड गर्नेजस्ता काम गरिरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहाेस् पूर्णपाठ :

सुझावित समाचार