बजेट असन्तुलित भएको भन्दै सत्ताधारी सांसदहरूले नै असन्तुष्टिले जनाएपछि १० दिनदेखि निरन्तर स्थगित हुँदै आएको कोशी प्रदेश सभाको बैठक शुक्रबारदेखि सञ्चालन भएको छ। १ असारमा संसदमा प्रस्तुत भएर मन्त्रालयगत छलफलको प्रतीक्षामा रहेको बजेटमा सत्ताधारी दलहरूकै सांसदहरूले असन्तुष्टि जनाएपछि ९ असारदेखि निरन्तर स्थगित हुँदै आएको कोशी प्रदेश सभाको बैठक शुक्रबार साढे दुई बजेदेखि सुरु भएको हो ।
बजेट असन्तुलित भएको भन्दै सत्तापक्षका सांसदहरूको असन्तुष्टिले गर्दा ९ असारदेखि ११, १६ र १८ असारमा प्रदेश सभाको बजेट सरकारको अनुरोधमा स्थगित हुँदै आएको थियो । तर, असन्तुष्ट सांसदहरूबिच मन्त्रीहरूको क्षेत्रमा विनियोजन गरेको बजेट समर्पण गराएर उपेक्षित सांसदहरूको क्षेत्रमा बजेट समायोजन गर्ने सहमति भएको छ । उक्त सहमति आजै संसद्को बैठकमा जानकारी गराउने सरकारको तयारी छ ।
कोशी प्रदेशमा एमाले–कांग्रेसको गठबन्धन सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले १ असारमा आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।