कञ्चनपुरको झर्नाखोलामा एक बालिका बेपत्ता भएकी छिन्। बेलौरी नगरपालिका– १, रतनपुरकी १४ वर्षीया बालिका गरिमा तिरुवा बेपत्ता भएकी हुन्। बिहीबार खोलानजिकै खेतमा काम गर्न गएकी तिरुवा साथीभाइहरूसँगै पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतले बेपत्ता बालिकाको खोजीकार्य भइरहेको बताए । प्रवक्ता रावतका अनुसार प्रहरी, सशस्त्र प्रहरीसहितका स्थानीय खटिएका छन् । शुक्रबार बिहानसम्म बालिका फेला परेकी छैनन् । बालिका बेपत्ता भएपछि घरपरिवारदेखि गाउँले चिन्तित भएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बेलडाँडी– १, बेलौरी भएर बग्ने झर्नाखोलाका कारण बाढी, कटानजस्ता प्राकृतिक विपत्ति निम्त्याएको छ । तैपनि सरकारले झर्नाखोलाको बाढीबाट यसअघि भत्किएको पुलदेखिका कृषियोग्य भूमि संरक्षणमा चासोसमेत नदिएको जनताको गुनासो छ ।