विश्वकपमा पहिलोपटक नकआउट चरणमा स्थान बनाएको नर्वेले फरक किसिमले चर्चा बटुलिरहेको छ । प्रमुख स्ट्राइकर अर्लिङ हाल्यान्डको पाँच गोल र जित निकालेपछि नर्वेले मनाउने ‘सेलिब्रेसन’ चर्चाको शिखरमा छ । बराबरी वा पराजित हुँदा नर्वेका खेलाडी सामान्य रूपमा मैदानबाट बाहिरिन्छन् । जब विपक्षीलाई पराजित गर्छन्, त्यसवेला सिंगो रंगशालामा नर्वेली समर्थक र खेलाडी बिल्कुलै फरक रूपमा खुसी मनाउँछन् ।
उनीहरूको यस सेलिब्रेसनलाई ‘भाइकिङ रो’ भनिन्छ । यही सेलेब्रेसनले अहिले विश्व तताएको छ । न्युयोर्कको ऐतिहासिक टाइम्स स्क्वायरदेखि बोस्टनको सडक तथाा अन्य क्षेत्रमा ‘भाइकिङ रो’ सेलिब्रेसन निकै चर्चित बनेको छ । भाइकिङ रो भनेको डुंगामा बसेर चलाउने रोइङ प्रक्रिया हो । नदीमा ढुंगा चलाउँदा त्यसमा बसेका सबै व्यक्तिले रोइङ गर्छन् । यो प्रक्रियामा डुंगामा बसेका सबै व्यक्तिले शरीरलाई पछाडि लगेर रोइङ गर्छन् । त्यसपछि सबै शक्ति लगाएर पानीको छाल छिचोल्दै डुंगालाई अगाडि बढाउँछन् ।
नर्वेली खेलाडीले मैदानमा यस्तै सांकेतिक प्रदर्शन गरिरहेका छन् । राउन्ड अफ ३२ मा हाल्यान्डको निर्णायक गोलमा नर्वेले आइभोरी कोस्टलाई हराएको थियो । सुरुमा उनीहरूले मैदानमा सामान्य जितको खुसी मनाएका थिए । तर, वास्तविक उनीहरूको सेलिब्रेसन भनेको भाइकिङ रो नै थियो । कप्तानले ड्रम सेट बजाउँदा लहरै बसेका खेलाडीहरूले चिच्याउँदै रोइङ गरे ।
उनीहरूसँगै रंगशालाका समर्थकले पनि त्यही लयमा रोइङ गर्दै समर्थन जनाए । यति मात्र नभएर अहिले नर्वेको प्रत्येक सरकारी, निजी या सांसद भवनमा समेत काम सुरु गर्नुअघि भाइकिङ रो गरेको भिडियो आएका छन् ।
ड्रमको धुममा रोइङ
खुसी मनाउँदा सुरुमा नर्वेको एक परम्पराअनुसार धुन बजाइन्छ । त्यसपछि भुइँमा सबै समर्थक लाइनमा बस्छन् । उनीहरू कुनै समुद्री डुंगामा बसेजस्तो देखिन्छ । त्यसपछि एक लिडरले ड्रम बजाउँछन् । सुरुमा ड्रमको धड्कन निकै सानो र सुस्त हुन्छ । यसको आवाज बिस्तारै ठुलो हुँदै जान्छ । ड्रमको आवाजसँगै समर्थक एकसाथ डुंगा चलाएजस्तो गर्छन् । त्यसपछि उनीहरू पूरै बल लगाएर डुंगा चलाउँछन् ।
विश्व फुटबलमा यस्ता किसिमका सेलिब्रेसन भने ठुला प्रतियोगितामा देखिँदै आएको छ । तर, भाइकिङ रोको कथा फरक छ । ६ महिनाअघि नर्वेको राजधानी ओस्लोमा सुरु भएको थियो । ओले प्रोयस्टेड नाम गरिएको प्राइमरी स्कुलका शिक्षकले आफ्नो विद्यार्थीको हौसला बढाउन यसको सुरु गरेका थिए । सुरुमा अभ्यास गर्दा समर्थकलाई निकै गाह्रो भएको थियो । यसपछि प्रोयस्टेडले सामाजिक सञ्जालमा कम्मर मर्काउन सिकाएर एक भिडियो राखे ।
त्यसपछि नर्वेका चर्चित स्ट्राइकर हाल्यान्ड तथा कप्तान मार्टिन ओडेगार्डले पनि सिके । अहिले नर्वेका सबै खेलाडीले यस्तै सेलिब्रेसन गर्छन् । इतिहासकारले भाइकिङ अर्थ घरबाट टाढा जाने र जित हासिल गर्नु रहेको बताउँछन । सन् २०१६ को युरोमा पनि यस्तै प्रकारको सेलिब्रेसन भएको थियो । आयरल्यान्डका समर्थकले ‘थन्डर क्ल्याप’ गर्ने गरेका थिए ।