बजेटको झमेलाले कोशी प्रदेश सभाको बैठक बिहीबार पनि स्थगित

बिहिबार, १८ असार, २०८३
डिजिटल संस्करण

बजेट असन्तुलित भएको भन्दै सत्ताधारी सांसदहरूले नै जनाउँदै आएको असन्तुष्टिले गर्दा  धकेलिँदै आएको कोशी प्रदेश सभाको बजेट आज बिहीबार पनि स्थगित भएको छ । १ असारमा संसदमा प्रस्तुत भएर मन्त्रालयगत छलफलको प्रतीक्षामा रहेको बजेट असन्तुलित भएको भन्दै सत्तापक्षका सांसदहरूको असन्तुष्टिले गर्दा आज बिहीबार दिउँसो १ बजे बस्ने कार्यसूची भए पनि सहमति जुट्न नसक्दा प्रदेश सभाको बजेट स्थगित भएको हो। 

कोशी प्रदेश सभाका सचिव सुदर्शन खडकाका अनुसार आज बिहीबार बस्ने भनिएको प्रदेश सभाको बैठक सरकारको अनुरोधमा १९ असार शुक्रबार दिउँसो एक बजे बस्ने गरी तय भएको छ । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वले आगामी आर्थिक वर्षका लागि १ असारमा प्रस्तुत गरेको बजेटको असन्तुष्टिले गर्दा ९ असारदेखि कोशी प्रदेश सभाको बैठक बस्न सकेकको छैन । प्रदेश सभा सचिवालयले ११ असारदेखि निरन्तर प्रदेश सभाको बैठक परिवर्तन भएको कार्यसूची प्रकाशन गर्दै आएको छ । 

प्रदेश सभाको बैठक बस्न नसक्दा आर्थिक योजनामन्त्री विदुरकुमार लिङथेपले प्रदेश सभामा टेबल गरेको विनियोजन विधेयकमाथि छलफल हुन नपाउँदा बजेट पारित हुन सकस भइरहेको छ ।  कोशी प्रदेशमा एमाले–कांग्रेसको गठबन्धन सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेपले  १ असारमा आगामी आर्थिक वर्ष ०८३/८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।  

प्रदेश सभामा प्रस्तुत भएको बजेटमा मुख्यमन्त्री र मन्त्रीहरूले आफनो निर्वाचन क्षेत्रमा मात्र असन्तुलित ढंगले मनमौजी बजेट विनियोजन गरेको आरोप सत्ताधारी दल एमाले कांग्रेसका सांसदहरुले नै असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले बजेट पुनर्लेखन गर्न माग गर्दै २७ जनाको हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीलाई बुझाइसकेका छन् । आफ्नै सांसदहरूको विरोधले गर्दा बजेट पारित गराउन सकस भएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समन्वय गर्न ६ सदस्यीय कार्यदल पनि गठन गराएका छन् । तैपनि अझै बजेट पारित गराउनेबारे सहमति जुट्न सकेको छैन । 
 

सुझावित समाचार