त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले अमेरिका पठाउन लागिएको कार्गोबाट सुन तथा चाँदीजस्ता देखिने धातुका गरगहना बरामद गर्दै दुईजनालाई पक्राउ गरेको जनाएको छ।
सुरक्षा कार्यालयका अनुसार असार १६ गते साँझ करिब ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा रहेको कार्गो बाकस एक्स–रे परीक्षण गर्दा जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाको सट्टा शंकास्पद सामग्री देखिएपछि बाकस खोली जाँच गरिएको थियो। जाँचका क्रममा सुन तथा चाँदीजस्ता देखिने धातुका विभिन्न प्रकारका गरगहना फेला परेका प्रहरीले जनाएको छ। उक्त सामान काठमाडौंबाट संयुक्त राज्य अमेरिका पठाउन लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बरामद गरिएका सामग्रीमा नौगेडी, चन्द्रमा, जन्तर, सिंगल तथा डबल ब्रोच, शिरफूल, नेपालको झन्डाअंकित ब्रोच, खुकुरी आकारका ब्रोच, मंगलसूत्र, मोतीमाला, रानीहार तथा त्रिशूललगायतका गरगहना रहेका छन्।
घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय यज्ञराज सुवेदी र ३४ वर्षीय रामप्रसाद दाहाललाई नियन्त्रणमा लिइएको छ। प्रहरीले बरामद गरिएका सबै सामग्रीसहित दुवै पक्राउ परेकालाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएका धातुका गरगहनाको वास्तविक प्रकृति, तौल र मूल्य सम्बन्धमा थप परीक्षण तथा अनुसन्धान भइरहेको छ।