कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले भन्सार छली गरी लुकाइछिपाई राखिएका करिब सात लाख २० हजार रुपैयाँबराबरका ग्यासरहित खाली लाइटरका खोका बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार असार १५ गते बिहान करिब ७:३० बजे प्राप्त विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले कृष्णनगर नगरपालिका–२, ट्रान्समिटर टोलस्थित दुई स्थानमा खानतलासी गरेको थियो।
प्रहरीले नजिमुन निशाको घरबाट ६ कार्टुन तथा मोहम्मद साजिदको निर्माणाधीन घरबाट थप ६ कार्टुन गरी कुल १२ कार्टुन ग्यासरहित खाली लाइटरका खोका बरामद गरेको जनाएको छ। प्रत्येक कार्टुनमा ८० पोका र प्रत्येक पोकामा ५० वटा लाइटरका खोका रहेको प्रहरीले जनाएको छ। यसअनुसार कुल ४८ हजार थान खाली लाइटरका खोका बरामद भएका छन्, जसको अनुमानित मूल्य सात लाख २० हजार रुपैयाँ रहेको छ।
घटनामा संलग्न रहेको आरोपमा नजिमुन निशाकी २८ वर्षीया छोरी रेश्मा खातुन तथा मोहम्मद साजिदका २२ वर्षीय छोरा मोमताज अलीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आवश्यक अनुसन्धानपछि दुवैजनालाई जनही २४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा गरिएको छ।