विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति
सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ। पौडेल एक साताअघि पक्राउ परेका थिए।
अनुसन्धान बाँकी रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएको हो।
राहदानी छपाइमा अनियमितताः पाँचजनासँग धरौटी माग, दुईजना साधारण तारेखमा रिहा
पासपोर्ट छपाइको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदाललते पाँचजनासँग धरौटी माग गरेको छ। राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्यालसँग पाँच लाख, निर्देशक सुनील केसीसँग चार लाख, सोमेश थापासँग तीन लाख, विपिन प्रसाईंसँग तीन लाख तथा जर्मन कम्पनीका एजेन्ट मणिन्द्रकुमार मल्लसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ।
उपसचिहरू तुललसीप्रसाद आचार्य र राजाराम दाहाललाई भने साधारण तारेखमा छाडिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० अर्बभन्दा धेरै बिगो कायम गरी गत साता १६ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो।
बाँठपाली मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार, पालिकाका उपाध्यक्ष र कर्मचारीसहित ९ जनाविरुद्ध मुद्दा
मन्दिर निर्माणमा २२ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र कर्मचारीसहित नौजनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। नयाँ पर्यटन गन्तव्य विकास गर्ने उद्देश्यले गाउँपालिकाले मन्दिर निर्माण गर्दा भ्रष्टाचार भएको अख्तियारको दाबी छ।
बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नं ६ स्थित बाँठपाली मन्दिर निर्माणका क्रममा वास्तविक भए गरेकोभन्दा अस्वाभाविक बढी काम भएको देखाई, अस्वाभाविक दररेट राखी र सम्झौताबमोजिमको जनसहभागिता रकमसमेत कम कट्टा गरी झुट्टा बिल भरपाईसमेतको आधारमा २२ लाख एक हजार ६६५ रुपैयाँ बढी भुक्तानी दिएर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
एन्फाको बेथिति र भ्रष्टाचार छानबिन गर्दै राखेप
राखेपले एन्फाको बेथिति र भ्रष्टाचारको छानबिन गर्ने भएको छ । एक महिनाअगाडि उपाध्यक्षमा नियुक्त गोलकिपर विशाल श्रेष्ठको संयोजकत्वमा पाँचसदस्यीय समिति बनेको थियो।
एन्फाविरुद्ध गम्भीर आरोपसहित उजुरी परेपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एन्फाविरुद्ध गम्भीर आरोपसहित उजुरी परेपछि सो विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न राखेपलाई निर्देशन दिएका थिए।
सोहीअनुसार नियुक्ति लिएको केही दिनमै उनले आफ्नै संयोजकत्वमा एन्फाभित्र भएको अनियमितता, भ्रष्टाचार तथा पदको दुरुपयोगसम्बन्धी उजुरीमाथि छानबिन गर्न जिम्मेवारी पाएका हुन् ।
कुलेखानी– फर्पिङ सडक अझै ११ दिन बन्द, असार २५ सम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
हेटौँडा र काठमाडौं जोड्ने छोटो दूरीको प्रमुख प्रादेशिक सडक कुलेखानी–हुमाने–फर्पिङ सडकखण्ड अझै ११ दिन पूर्ण रूपमा बन्द रहने भएको छ । महालक्ष्मी खोलामा निर्माणाधीन पुल र सडक ढलानको काम सम्पन्न भए पनि नयाँ ढलान गरिएको कंक्रिटले आवश्यक मजबुती हासिल गर्न समय लाग्ने भएकाले असार २५ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको हो ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यालय मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुर र काठमाडौंलाई पत्राचार गर्दै असार २५ गतेसम्म सडक बन्द राख्न तथा वैकल्पिक मार्ग सञ्चालनमा आवश्यक समन्वय गर्न अनुरोध गरेको छ ।
कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने महालक्ष्मी खोलाको पुल निर्माणको काम सम्पन्न भइसकेको जानकार दिए । यस्तै सोही सडकखण्डको उकालो भागमा गरिएको कंक्रिट ढलानको काम पनि सकिएको भण्डारीले बताए । तर, प्राविधिक रूपमा कंक्रिटले तोकिएको मापदण्डअनुसारको मजबुती प्राप्त गर्न निश्चित समय लाग्ने भएकाले तत्काल सवारी सञ्चालन गर्न रोक लगाइएको उनको भनाई छ ।
‘महालक्ष्मि खोलामाथीको पुल निर्माण कार्य सकिएको छ भने पुलको दुबैतर्फको कंक्रिट ढलानको काम पनि सकिएको छ, उनले भने,‘ ‘तर, तत्काल सवारी संचालन गर्दा सडकको गुणस्तरमा प्रतिकूल असर पर्न सक्ने भएकाल सडक पूर्ण रूपमा प्रयोगयोग्य नहुँदासम्म सवारी सञ्चालन स्थगित गर्ने निर्णय गरेका छौं ।’
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विष्णु पौडेलसँग लियो बयान
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बयान लिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा विभागले उनीसँग बयान लिएको हो। स्रोतका अनुसार उनीसँग शुक्रबार नै बयान लिइएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेलमाथि छानबिन चलिरहेको छ। विभागको पत्रका आधारमा अघिल्लो साता सोमबार प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेर ल्याएको थियो। ललितपुरको प्रहरी प्रभाग पुल्चोकस्थित हिरासतमा रहेका उनीमाथि विभागले सम्पत्ति शुद्धीकरणमा अभियोजनका लागि छानबिन गरिरहेको छ।
नेप्सेमा एक करोड १० लाखभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार एक करोड १० लाख ६० हजार ८१२.९८ कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार सुपर माई हाइड्रोपावर, नेको इन्स्योरेन्स र एनएमबि बैंकको बोनस सेयरबापतको सेयर सूचीकृत भएको हो।
सुपर माईको २० प्रतिशत अर्थात् १० लाख ७० हजार कित्ता, नेकोको तीन प्रतिशत अर्थात् आठ लाख सात हजार ४६० कित्ता र एनएमबिको पाँच प्रतिशत अर्थात् ९१ लाख ८३ हजार ३५२.९८ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
सेबोन अध्यक्षलाई अर्थमन्त्रीको निर्देशन– लोभ र प्रभावमा नपरी लगानीकर्ताको हित सुरक्षित गर्नुहोस्
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हित र पुँजीबजारको स्थायित्वमा इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा आयोजित शपथग्रहण कार्यक्रममा मन्त्री वाग्लेले भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै कुनै पनि लोभ र बाह्य प्रभावमा नपरी लगानीकर्ताको लगानीको सुरक्षा गर्न जोड दिए। उनले पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण बनाउनुपर्ने बताए।
क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसलाई क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्वविद्यालय अनुदान आयोगको निर्देशनअनुसार उक्त व्यवस्था कार्यान्वयन गर्न सबै आंगिक क्याम्पसलाई आग्रह गरेको हो।
गृहमन्त्री र गृहसचिवको गाडीको कालो सिसा हटाइयो
गृहमन्त्री सुधन गुरुङ तथा गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्दै आएको गाडीको कालो सिसा हटाइएको छ। सुरक्षाको कारण देखाउँदै यसअघि ती गाडीमा कालो सिसा प्रयोग गरिएको थियो।
सार्वजनिक तथा निजी सवारीसाधनबाट कालो सिसा हटाउने अभियानअन्तर्गत गृहमन्त्री र सचिवको गाडीमा प्रयोग भइरहेको कालो सिसा सोमबार हटाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।