म्युनिखमा ‘नेपाली रुट्स समिट’ हुँदै

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

जर्मनी तथा युरोपमा रहेका नेपाली मूलका पेसेवर, उद्यमी, अनुसन्धानकर्ता तथा विद्यार्थीलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘नेपाली रुट्स समिट २०२६’ आयोजना हुने भएको छ। नेपाली रुट्स इभीको आयोजनामा आगामी ४ जुलाईमा जर्मनीको म्युनिखमा हुने सम्मेलनको मुख्य विषय ‘एकीकरणदेखि सशक्तीकरणसम्म : नेपाली डायस्पोरामा नेतृत्व र उद्यमशीलता क्षमता निर्माण’ रहेको छ।

सम्मेलनले प्रवासी नेपाली समुदायमा नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, ज्ञान तथा अनुभव आदानप्रदान र व्यावसायिक सञ्जाल विस्तारमा योगदान पुर्याउने लक्ष्य लिएको आयोजकले जनाएको छ। सम्मेलनका प्रमुख अतिथि जर्मनीका लागि नेपाली कार्यवाहक राजदूत सागर फुँयाल रहनेछन्।

साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए)का प्रतिनिधिहरू, विभिन्न क्षेत्रका नेपाली विज्ञ, सफल उद्यमी, अनुसन्धानकर्ता तथा जर्मनी र युरोपका विभिन्न देशमा कार्यरत नेपाली पेसेवरहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा नेतृत्व विकास, प्रवासी उद्यमशीलता, कृत्रिम बौद्धिकता (एआई), दिगो ऊर्जा, डायस्पोरा लगानी तथा नवप्रवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ। सफल नेपाली पेसेवरहरूले आफ्ना अनुभव साझा गर्ने विशेष सत्र, मेन्टरसिप तथा खुला नेटवर्किङ कार्यक्रम पनि समावेश गरिएको छ, जसले सहभागीहरूबिच सहकार्य विस्तार र नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

सुझावित समाचार