नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्स्क्रिप्सनमा आधारित प्याकेज सञ्चालनमा ल्याएको छ । यसअनुसार अब सेवाग्राहीले हरेक महिना पुनः प्याकेज सक्रिय गर्ने झन्झट भोग्नुपर्नेछैन । सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्कोपटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमका आधारमा प्रत्येक महिना उक्त प्याकेज स्वतः नवीकरण हुने बताइएको छ ।
टेलिकमले ३० दिन समयावधिका तीन प्रकारका प्याकेज ल्याएको छ । २९९ रुपैयाँमा ‘नमस्ते रिकरिङ २९९’ प्याकमा सबै नेटकर्वमा ३०० मिनेट कल, अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने चार जिबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने दुई जिबी नाइट डेटा तथा कम्पनीको नेटवर्कमा मात्र पठाउन सकिने २० वटा अन–नेट एसएमएस उपलब्ध हुनेछन् ।
त्यसैगरी, ४९९ मा ‘नमस्ते रिकरिङ ४९९’ प्याकमा ५०० मिनेट अल–नेट भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने आठ जिबी डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने चार जिबी नाइट डेटा तथा सबै नेटवर्कमा पठाउन सकिने १०० वटा अल–नेट एसएमएस उपलब्ध हुने बताइएको छ ।
यस्तै, ७९९ को ‘नमस्ते रिकरिङ’ प्याकमा सबै नेटवर्कमा अनलिमिटेड कल, अल–नेट भ्वाइस, प्रतिदिन १० जिबी डेटा र ३०० वटा अल–नेट एसएमएस उपलब्ध हुनेछ । उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकताअनुसार एड–अन प्याकेजसमेत उपलब्ध गराइने कम्पनीको जनाएको छ । सो प्याकेजअन्तर्गत ग्राहकले ३० मा एक दिनका लागि एक जिबी, ५० मा तीन दिनका लागि दुई जिबी र ९९ मा सात दिनका लागि चार जिबी डेटा पाउनेछन् ।