संगठित रूपमै नक्कली कागजात बनाएर विदेशी विद्यार्थीलाई अध्ययन भिसा

किर्तेमा संलग्न पिएचडी डाक्टर शुक्ला २८ जेठमा पक्राउ, अनुसन्धानका क्रममा एक चिनियाँ नागरिक नियन्त्रणमा

सोमबार, १५ असार, २०८३
डिजिटल संस्करण

नेपाली कलेज अध्ययन गरेको नक्कली कागजात तयार गरी विदेशी विद्यार्थीलाई अध्ययन भिसा दिलाउन भूमिका खेल्ने धन्दामा डा. सुबोध शुक्ला संगठित रूपमै संलग्न रहेको खुलेको छ । उनलाई अध्यागमन विभागले गत २८ जेठमा पक्राउ गरेको थियो । घटनाको अनुसन्धान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गर्दै आएको छ । 

अनुसन्धान कार्यालयका अनुसार शुक्लाले हालसम्म २० भन्दा धेरै विदेशी विद्यार्थीलाई नेपाली कजेजमा अध्ययन गरेको भन्दै नक्कली कागजात तयार गरिदिएका थिए । उनीहरूले सोही आधारमा नेपालमा अध्ययन भिसा लिएका थिए । धन्दामा संलग्न चिनियाँ नागरिक वाङ जिङ्काओलाई पनि विभागले पक्राउ गरेको छ । भिसाका लागि उनीहरूले वाल्मीकि विद्यापीठको नक्कली कागजात तयार गर्दै आएको खुलेको छ । शुक्लाले प्रति विद्यार्थी दुई लाख ५० हजार रुपैयाँ लिनेको गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले शुक्लाले धेरै विदेशी विद्यार्थीलाई अध्ययन भिसाका लागि नक्कली कागजात तयारी गरिदिने गरेको खुलेको बताए । ‘वाल्मीकि विद्यापीठको नक्कली कागजात बनाइदिने र सोही आधारमा विदेशी विद्यार्थीलाई अध्ययन भिसा उपलब्ध गराइदिने भूमिकामा संलग्न केही अभियुक्त पक्राउ परेका छन् । उनीहरूविरुद्ध अनुसन्धान भइरहेको छ । उनीहरूले धेरै विदेशी विद्यार्थीलाई अध्ययन भिसाका लागि नक्कली कागजात तयारी गरिदिने गरेको अनुसन्धानबाट देखिन्छ । केही दिनभित्रै यसको विस्तृत विवरण सार्वजनिक हुनेछ,’ उनले भने ।

अनुसन्धान कार्यालयका अनुसार शुक्लाको समूहले एक महिनामा विभिन्न देशका २० जना विद्यार्थीलाई वाल्मीकि विद्यापीठमा भर्ना गरेको भन्दै किर्ते कागजात तयार गरेका थिए । जसमध्ये १० जनालाई गत १४ जेठ र बाँकी १० जनालाई २१ जेठमा कागजात बनाइदिएका थिए । सोही कागजातका आधारमा १४ जेठमा अध्ययन भिसा लिनेमध्ये पाँच चिनियाँ र दुई कोरियन नागरिक छन् । बाँकी तीन नागरिक भने अमेरिकी, स्विडिस र ब्रिटिस छन् । २१ जेठमा अध्ययन भिसा लिनेमध्ये आठजना चिनियाँ नागरिक छन् । दुईमध्ये एक रसियन र अर्को जर्मन नागरिक छन् । 

घटनाबारे अनुसन्धान भइरहेकाले अध्ययन भिसा लिने विदेशी विद्यार्थीको संख्या अझै बढ्न सक्ने एसएसपी खड्काले बताए । ‘नक्कली कागजातका आधारमा अध्ययन भिसा लिने विदेशी विद्यार्थीको संख्या थप बढ्न सक्ने देखिन्छ । घटना अनुसन्धानकै चरणमा रहेकाले यसमा थप कुरा नगरौँ,’ उनले भने ।

अध्यागमन विभागका अनुसार धन्दाका मुख्य योजनाकार शुक्ला गत २८ जेठमा दुई विदेशी नागरिक लिएर अध्ययन भिसाको प्रक्रिया अघि बढाउन कालिकास्थानस्थित कार्यालय पुगेका थिए । उनीसँगै दुई चिनियाँ नागरिक थिए । दुवैसँग वाल्मीकि विद्यापीठको लेटरहेडमा भिसाका लागि भन्दै सिफारिस गरिएको कागजात थियो । सँगै शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिसपत्र पनि थियो । विभागका निर्देशक टीकाराम ढकालले पेस भएको कागजात अध्ययन गरे । गतिविधि शंकास्पद देखिएपछि उनले दुवै विद्यार्थीसँग केही आधारभूत प्रश्न गरे । विद्यार्थीसँगै सोफामा बसेका शुक्ला सहजीकरणका लागि अघि बढे । ‘दुवै विद्यार्थी वाल्मीकिमा भर्ना भएका हुन् । म पनि त्यहीँ पठाउँछु । यी दुवै मेरा विद्यार्थी हुन् । यसमा शंका नगर्दा हुन्छ,’ उनले भने ।

विभागका निर्देशक ढकालले शुक्लालाई विद्यापीठको क्याम्पस प्रमुखको नाम र फोन नम्बर सोधे । उनी अकमकिन थाले । गतिविधि थप सन्देहपूर्ण देखिएपछि ढकालले भिसाका लागि आवेदन दिने विद्यार्थी र शुक्लाको सम्बन्धमा बुझ्न विद्यापीठमा तुरुन्तै कार्मचारी पठाए । सोधखोज गर्दा खुल्यो भिसाका लागि आवेदन दिने कुनै विद्यार्थी कलेजमा भर्ना नभएको र शुक्लाबारे पनि जानकारी नभएको खुल्यो । त्यसलगत्तै विभागले शुक्लालाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीको अनुसन्धान कार्यालय पठायो । 

‘यो मान्छे (डा. शुक्ला) विगतदेखि नै विदेशी विद्यार्थी लिएर विभाग आउने रहेछ । महिना दिनको अवधिमा मात्रै यसले २० जना विदेशी विद्यार्थीलाई अध्ययन भिसाका लागि नक्कली कागजात तयार गरेर दिएको देखिन्छ । सोही आधारमा भिसा पनि जारी भएको देखिन्छ । यद्यपि, अनुसन्धान हुँदै छ । थप तथ्य खुल्दै जालान्,’ विभागका निर्देशन ढकालले भने । प्रहरीका अनुसार यो धन्दमा नाम चलेका केही अधिवक्तासमेत संलग्न छन् । उनीहरूविरुद्ध पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकाल भन्छन् – यो मान्छे (डा. शुक्ला) विगतदेखि नै विदेशी विद्यार्थी लिएर विभाग आउने रहेछ । महिना दिनको अवधिमा मात्रै यसले २० जना विदेशी विद्यार्थीलाई अध्ययन भिसाका लागि नक्कली कागजात तयार गरेर दिएको देखिन्छ । सोही आधारमा भिसा पनि जारी भएको देखिन्छ । यद्यपि, अनुसन्धान हुँदै छ । थप तथ्य खुल्दै जालान् ।

सुझावित समाचार