सल्यान प्रहरीले अवैध रूपमा ओसारपसार भइरहेको काठसहित एक टिपर नियन्त्रणमा लिएको छ। नियमित चेकजाँचका क्रममा टिपरबाट लुकाइछिपाई ल्याइएको सल्लाको काठ बरामद भएपछि सवारीसाधनसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार शारदा नगरपालिका– १३ स्थित लान्ती–लेखपोखरा भित्री कच्ची सडकखण्डबाट उक्त टिपरलाई नियन्त्रणमा लिइएको हो। लेखपोखराबाट लान्तीतर्फ आउँदै गरेको भे.१ख २८७१ नम्बरको टिपरमा प्लाईको मुनी लुकाएर राखिएको २० थान सल्लाको चिरान काठ फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
बरामद काठ, टिपर तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय सल्यान पठाइएको उनको भनाइ छ। प्रहरीका अनुसार वन पैदावारको अवैध कटानी, ओसारपसार तथा चोरी निकासी नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा नियमित रूपमा सवारी चेकजाँच तथा निगरानीलाई तीव्र बनाइएको छ।