- कमजोर प्रतिद्वन्द्वी जोर्डनविरुद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाब नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएका छन्
पहिलो दुई खेलमा पाँच गोल गर्दै सनसनी मच्चाएका कप्तान लियोनल मेसीले समूह ‘जे’को अन्तिम खेलमा जोर्डनविरुद्ध दोस्रो हाफमा मात्रै खेल्ने भएका छन् । अर्जेन्टिनाले समूहको अन्तिम खेल आइतबार बिहान जोर्डनसँग अमेरिकामा खेल्दै छ ।
कमजोर प्रतिद्वन्द्वी जोर्डनविरुद्ध प्रशिक्षक लियोनल स्कोलानीले दबाब नरहेको भन्दै मेसीलाई प्लेइङ सेटमा नखेलाउने निर्णय लिएका छन् । जोर्डनविरुद्ध उनी दोस्रो रोजाइका खेलाडीलाई मौका दिने योजनामा छन् । टोलीको आवश्यकताअनुसार मेसीसँगै अनुभवी खेलाडीलाई दोस्रो हाफमा मैदान पठाउने प्रशिक्षक स्कोलानीको रणनीति रहेको छ ।
मेसीसँगै लौटारो मार्टिनेज, एन्जो फर्नान्डेज, एलेक्सिस मार्क एलिस्टर, रोड्रिगो डी पाउलजस्ता खेलाडीले विश्राम पाउन सक्छन् । समूहको पहिलो खेलमा अल्जेरियाविरुद्ध ३–० को जित निकाल्दा मेसीले ह्याट्रिक गरेका थिए । जुन ह्याट्रिक मेसीले विश्वकपमा पहिलोपटक गरेका हुन् । मेसी ३८ वर्षको उमेरमा विश्वकपमा ह्याट्रिक गर्ने पहिलो पाका खेलाडीसमेत बनेका थिए ।
दोस्रो खेलमा पनि मेसीले अस्ट्रियाविरुद्ध २–० को जितमा दुई गोल गरेका थिए । योसँगै मेसी चलिरहेको विश्वकपमा उच्च पाँच गोल गर्न सफल भएका छन् । मेसीले यही खेलबाट मिरोस्लाभ क्लोजको नाममा रहेको सर्वाधिक १६ गोलको कीर्तिमान तोडेका थिए । हाल अर्जेन्टिना फिफा वरियतामा पहिलो स्थानमा छ । मेसीको कप्तानीमै अर्जेन्टिना लगातार उपाधि जित्ने योनजामा छ । मेसी नखेलेको अवस्थामा प्रशिक्षक स्कोलानीले पहिलोपटक जुलियन अल्भारेजलाई प्लेइङ सेटमा मौका दिन सक्छन् । यस्तै, जिउलिनो सिमोन, निको पाज, लिआन्द्रो पराडेज, जिओभानी लो सेल्सो, मार्कोस सेनेसीजस्ता खेलाडीले अवसर पाउन सक्छन् ।
यता, जोर्डन भने पहिलोपटक एसियाबाट छनोट भएर विश्वकप खेलेको हो । टोली दुवै खेलमा पराजित भएको छ । पहिलो खेलमा अस्ट्रियासँग ३–१ तथा दोस्रो खेलमा अल्जेरियाविरुद्ध २–१ ले पराजित भएको हो । तेस्रो खेलमा समेत टोलीले जित्ने सम्भावना निकै कमजोर रहेको छ । जोर्डन कम्तीमा पहिलोपटक विश्वकप खेलिरहँदा अर्जेन्टिनाबाट अंक खोस्दै सुखद अन्त्य गर्ने योजनामा छ ।
समूहकै अर्को खेलमा अल्जेरियाले अस्ट्रियाको सामना गर्दैछ । खेल एकै समयमा हुनेछ । समूहमा लगातार दुई खेलबाट अर्जेन्टिनाले एक्लै ६ अंक जोडेको छ । अस्ट्रिया र अर्ल्जेरियाको समान तीन अंक छ । यो खेलको विजेताले नकआउटमा स्थान पनि बनाउनेछ । यस्तै, जोर्डनविना अंक पुछारमा छ ।