शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत गठन गरिएको उपकुलपति छनोट तथा सिफारिस समितिले त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि सुरु गरेको छ।
समितिले पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिरहेको जनाएको छ। उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। साथै, मूल्यांकन प्रक्रियालाई प्रभावकारी र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम क्रमशः भोलि र पर्सि सञ्चालन हुनेछ। यससँगै आठवटै विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया निर्धारित समयसीमाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
मन्त्रालयले यस प्रक्रियाबाट विश्वविद्यालयहरूमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासनको प्रवर्द्धन तथा नेपालको उच्च शिक्षा क्षेत्रमा शैक्षिक उत्कृष्टता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।