जापानले पाँचपटकको विश्वकप विजेता ब्राजिलविरुद्ध २३औँ विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रतिस्पर्धा गर्ने भएको छ । विश्वकपअन्तर्गत शुक्रबार बिहान समूह ‘एफ’को अन्तिम खेलमा जापानले स्विडेनसँग १–१ को बराबरी खेलेपछि समूह उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेको हो ।
यस समूहको विजेता नेदरल्यान्ड्स बन्यो । ब्राजिलले यसअघि समूह ‘सी’मा दुई जित र एक बराबरी नतिजा निकाली शीर्ष स्थानमा रहँदै नकआउट चरण स्थान पक्का गरेको थियो ।
समूह ‘सी’को उपविजेता मोरोक्कोले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिल र जापानबिचको खेल २९ जुनमा अमेरिकाको ह्युस्टन रंगशालामा हुनेछ । चालू विश्वकपको सोमबारदेखि नकआउट चरण खेल सुरु हुनेछ । जसमा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाबिच हुनेछ । दक्षिण अफ्रिकाले पहिलोपटक समूह चरण पार गरेको थियो । अमेरिकाले बोसनिया हर्जगोभिनासँग खेल्नेछ । अहिलेसम्म जापान र ब्राजिलबिच १० पटक प्रतिस्पर्धा भएको छ ।
जसमा ब्राजिलले जापानलाई सात खेलमा हराएको छ । जापानले ब्राजिलविरुद्ध दुई खेलमा आफ्नो पक्षमा राखेको छ । यी दुई राष्ट्रबिच दुई खेल बराबरीमा सकिएको छ । ब्राजिलले अवे रंगशालामा जापानलाई ६ खेलमा हराएको छ । जापानले गत अक्टोबर २०२५ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिललाई ३–२ ले हराउँदै इतिहास रचेको थियो । विश्वकपमा यी दुई टोलीबिच अहिलेसम्म एकपटक मात्र भेट भएको छ । सन् २००६ को विश्वकप समूह चरणमा ब्राजिलले जापानलाई ४–१ ले पराजित गरेको थियो । जापानले पछिल्ला वर्षहरूमा युरोपेली र दक्षिण अमेरिकी शक्तिशाली टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।