रास्वपा अब झन् परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी अब झन् परिपक्व, संगठित र जिम्मेवार ढंगले अघि बढ्ने बताएका छन्।
सभापतिको शपथग्रहणपछि आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले महाधिवेशनले पार्टीलाई राजनीतिक रूपमा थप वैधानिकता, मजबुती र स्पष्ट दिशा प्रदान गरेको बताए।
पछिल्ला चार वर्षको यात्रामा पार्टीले केही कमजोरी र अनुभवबाट महत्त्वपूर्ण पाठ सिकेको उल्लेख गर्दै लामिछानेले आगामी दिनमा ती कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरे।
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। आचार्य यसअघि सहमहामन्त्री थिए।
रास्वपाको उपसभापतिमा सोविता गौतम विजयी
राष्ट्रिय स्वतन्त्र पार्टीको महिला उपसभापतिमा कानुनमन्त्री सोविता गौतम विजयी भएकी छिन्।
चितवनमा जारी महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा गौतम ७८९ मतसहित निर्वाचित हुँदा उनकी प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत ल्याइन्।
तीन उपसभापति रहने रास्वपामा स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध भइसकेका छन् भने एकजना मनोनीत हुनेछन्।
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले शपथग्रहण गरेका छन् । उनलाई पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले शपथ गराएका हुन् ।
चितवनमा ७ असारदेखि आज (१२ असार) सम्म भएको महाधिवेशनबाट लामिछाने निर्विरोध निर्वाचित भएका थिए ।
निर्वाचन हारे पनि रास्वपामा राजनीतिलाई जीवित राख्न सफल भएँ : मनीष झा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले निर्वाचन हारे पनि आफू पार्टीमा राजनीतिलाई जीवित राख्न सफल भएको बताएका छन्।
लोकतन्त्रको आधारभूत सिद्धान्त नै निर्वाचन रहेको उल्लेख गर्दै झाले यस्तो बताएका हुन्। पुराना असफल पार्टीमा जस्तै रास्वपामा टिकेप्रथा र गुटप्रथा नहोस् भनेर आफूले प्रयास गरेको उनको भनाइ थियो।
सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न एक हप्ता म्याद थप
सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिइएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै १९ गतेसम्मको समय दिएको हो ।
जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्वसूचनाअनुसार ०८३/०३/१२ भित्रमा होल्डिङ सेन्टरहरूमा बसोबास गर्नेहरूलाई स्वव्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घरभाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासोसमेतको अवस्थालाई ध्यानमा राखी ०८३/०३/१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ।’
दुईपटक सूचना टाँसेर आइतबारलाई सारियो प्रतिनिधिसभा बैठक
प्रतिनिधिसभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ। शुक्रबार बैठक बस्न नसकेपछि दुईपटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक आइतबारलाई बोलाइएको हो।
आज दिउँसो १ बजेलाई तोकिएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनका कारण बस्न नसकेपछि संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले शनिबार बिहान ११ बजेको समय निर्धारण भएको सूचना प्रकाशित गरे।
टावरको फेदमै छैन मोबाइल नेटवर्क, उदयपुरगढी गाउँपालिका कार्यालयमै सञ्चार सेवा अवरुद्ध
टावरबाट करिब दुई सय मिटरको दूरीमा रहेको उदयपुरगढी गाउँपालिकाको कार्यालयपरिसरमै मोबाइल नेटवर्क नटिप्ने समस्याले सेवाग्राही र कर्मचारी दुवै हैरान बनेका छन् । नेपाल टेलिकम (एनटिसी) र एनसेलका टावर नजिकै भए पनि दुवै कम्पनीको नेटवर्क अनियमित भएपछि अत्यावश्यक फोनसमेत गर्न कार्यालयबाहिर निस्कनुपर्ने अवस्था सिर्जना भएको छ ।
गत बुधबार गाउँपालिकाको गाउँसभा चलिरहेका वेला कृषि शाखा प्रमुख पारशमणि फुयाँल मोबाइलमा नेटवर्क खोज्दै कार्यालयबाट बाहिर निस्केर टावरतर्फ कुदिरहेका थिए । उनका अनुसार कार्यालयभित्र फोन लाग्दैन, कहिलेकाहीँ मात्रै क्षणिक रूपमा नेटवर्क देखिन्छ ।
लगातार पाचौँ दिन पनि सेयर बजारमा गिरावट आएको छ। शुक्रबार नेप्से परिसूचक २ अंकले घटेर दुई हजार ६४९.५१ विन्दुमा कायम भएको हो। यसअघि सोमबार १.४६ अंकले घटेको नेप्से मंगलबार, बुधबार र बिहीबार क्रमशः २६, १४ र ८ अंकभन्दा धेरैले घटेको थियो।
आज कारोबार रकममा भने सामान्य वृद्धि भएको छ। ७७ लाख २७ हजार कित्ता सेयर तीन अर्ब ९४ करोड ५८ लाख रुपैयाँमा खरिद–बिक्री भएको हो। बिहीबार कारोबार रकम तीन अर्बबाट तल झरेको थियो।
लिग– २ का लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी विश्वकप लिग– २ को आगामी खेलका लागि नेपाली टोली घोषणा गरेको छ। क्यानले रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो।
टोलीमा पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी समेटिएका छन्।
यसैगरी, सन्दीप जोरा, साहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्री रिजर्भमा छन्।