पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलिन नदिन प्राविधिक टोली परिचालन गर्दै रोग नियन्त्रण तथा निगरानीको कामलाई तीव्र बनाएको छ। विभागले विभिन्न प्रयोगशालामार्फत नियमित नमुना परीक्षण गर्दै सम्भावित जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी बढाएको जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लामा संक्रमणको जोखिम उच्च देखिएकाले नियन्त्रण अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको छ। उनका अनुसार करिब तीन महिनाअघि सुरु भएको बर्डफ्लु संक्रमण हालसम्म ११ जिल्लामा फैलिसकेको छ।
हालसम्म करिब एक सय कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भइसकेको छ। संक्रमण देखिएका फार्ममा रहेका पन्छी, अन्डा तथा दाना नष्ट गरिएको विभागले जनाएको छ। साथै, प्रभावित फार्ममा करिब डेढ महिनासम्म नयाँ चल्ला नराख्न आग्रह गर्दै किसानलाई उच्च सतर्कता अपनाउन अपिल गरिएको छ।
काठमाडौं उपत्यकाभित्र चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायकलगायत क्षेत्रका कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको विभागले जनाएको छ। विभागले किसानलाई जैविक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न तथा कुनै असामान्य लक्षण देखिए तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।