टावरबाट करिब दुई सय मिटरको दूरीमा रहेको उदयपुरगढी गाउँपालिकाको कार्यालयपरिसरमै मोबाइल नेटवर्क नटिप्ने समस्याले सेवाग्राही र कर्मचारी दुवै हैरान बनेका छन् । नेपाल टेलिकम (एनटिसी) र एनसेलका टावर नजिकै भए पनि दुवै कम्पनीको नेटवर्क अनियमित भएपछि अत्यावश्यक फोनसमेत गर्न कार्यालयबाहिर निस्कनुपर्ने अवस्था सिर्जना भएको छ ।
गत बुधबार गाउँपालिकाको गाउँसभा चलिरहेका वेला कृषि शाखा प्रमुख पारशमणि फुयाँल मोबाइलमा नेटवर्क खोज्दै कार्यालयबाट बाहिर निस्केर टावरतर्फ कुदिरहेका थिए । उनका अनुसार कार्यालयभित्र फोन लाग्दैन, कहिलेकाहीँ मात्रै क्षणिक रूपमा नेटवर्क देखिन्छ ।
‘दुई सय मिटरमै टावर छ, तर कार्यालयभित्र नेटवर्क आउँदैन । जरुरी फोन गर्न बाहिर निस्कनुपर्छ । पहिला यस्तो समस्या थिएन, करिब एक महिनादेखि नेटवर्क नै हराउन थालेको छ,’ उनले भने, ‘सेवाग्राहीले फोन गर्दा सम्पर्क हुन नसक्दा उनीहरू पनि रिसाउँछन् । स्थानीयले पटक–पटक नेपाल टेलिकमलाई जानकारी गराइसकेका छन्, तर समस्या अझै समाधान भएको छैन ।’
गाउँसभामा सहभागी स्थानीय होमबहादुर बस्नेतले पनि गाउँपालिका कार्यालय क्षेत्रमा लामो समयदेखि मोबाइल सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको बताए । ‘एनटिसी र एनसेल दुवैको टावर छ, तर गाउँपालिका कार्यालयमा नेटवर्क आउँदैन । पहिला चल्थ्यो, अहिले किन यस्तो भयो भन्ने कसैले बताएको छैन,’ उनले भने, ‘सरकारी कार्यालयमै सञ्चार सेवा नचल्नु दुःखद अवस्था हो ।’
मोबाइल नेटवर्क समस्याले गाउँपालिकाको सेवा प्रवाहमा समेत असर परेको कर्मचारीहरू बताउँछन् । सेवाग्राहीसँग नियमित सम्पर्क हुन नसक्दा प्रशासनिक काममा ढिलाइ हुने गरेको उनीहरूको भनाइ छ ।
नेपाल टेलिकम उदयपुरका प्रमुख रामसेवक यादवले गाउँपालिका कार्यालय क्षेत्रमा नेटवर्क नटिप्ने समस्या रहेको स्वीकार गर्दै यसको प्राविधिक कारण गाउँपालिकाले निर्माण गरेको अग्लो भवन भएको बताए । ‘हामी तीन–चारपटक प्राविधिक टोली लिएर गएर मर्मत गरिसकेका छौँ । केही समय सुधार हुन्छ, फेरि उही समस्या दोहोरिन्छ,’ प्रमुख यादवले भने, ‘गाउँपालिकाले टावरको दिशातर्फ अग्लो भवन निर्माण गरेपछि टावर छेकिएको छ । त्यसैले सिग्नल प्रभावकारी रूपमा पुग्न सकेको छैन ।’
उनका अनुसार समस्या दीर्घकालीन रूपमा समाधान गर्न टावरको उचाइ बढाउनुपर्ने, प्रसारण क्षमतासहितका नयाँ उपकरण जडान गर्नुपर्ने वा टावरको शक्ति (पावर) वृद्धि गर्नुपर्ने अवस्था छ । ‘भवन भत्काउने कुरा व्यावहारिक होइन । त्यसैले टावरको क्षमता बढाउनु नै उपयुक्त विकल्प हो,’ उनले भने ।
यादवका अनुसार उदयपुरगढीस्थित टेलिकम टावर धेरै वर्षअघि निर्माण भएकाले त्यसमा जडान गरिएका उपकरण पनि पुराना भइसकेका छन् । ती उपकरणले पछिल्लो आवश्यकताअनुसार सेवा दिन नसकिरहेको उनको भनाइ छ । ‘समस्याबारे प्रादेशिक कार्यालय विराटनगरमा पटक–पटक पत्राचार गरेका छौँ, मौखिक जानकारी पनि गराएका छौँ तर अहिलेसम्म आवश्यक उपकरण उपलब्ध गराइएको छैन,’ उनले भने, ‘नयाँ तथा उच्च क्षमताका उपकरण प्राप्त भए नेटवर्क समस्या समाधान गर्न सकिन्छ ।’
स्थानीयले भने गाउँपालिकाको प्रमुख सरकारी कार्यालय रहेको स्थानमै आधारभूत सञ्चार सेवा प्रभावकारी नहुनु राज्यको सेवा प्रवाहमाथिकै प्रश्न भएको भन्दै नेपाल टेलिकम र सम्बन्धित निकायलाई तत्काल स्थायी समाधान गर्न माग गर्दै आइरहेका छन् ।