सुकुमवासीलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिइएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी गर्दै १९ गतेसम्मको समय दिएको हो ।
जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्वसूचनाअनुसार ०८३/०३/१२ भित्रमा होल्डिङ सेन्टरहरूमा बसोबास गर्नेहरूलाई स्वव्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घरभाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासोसमेतको अवस्थालाई ध्यानमा राखी ०८३/०३/१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ।’
यसअघि असार ९ गते अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो । आज फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ ।
सुकुमवासीहरूले आफूहरूलाई जबर्जस्ती ननिकाल्न र दीर्घकालीन व्यवस्थापन गर्नुपर्नेलगायतका माग गर्दै होल्डिङ सेन्टरबाट निकालिए पुरानै ठाउँमा छाप्रो हालेर बस्ने अडान लिँदै आएका छन् ।
गत जेठ ५ को मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीका लागि पुनर्स्थापनाका लागि एकमुस्ट २५ हजार खर्च उपलब्ध गराउने निर्णय गरेको थियो ।
