आठ वर्षको निरन्तर सरसफाइ अभियानले फेरियो विजयनगरको मुहार

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

एक समय जथाभावी फोहोर, अस्तव्यस्त सडक र सरसफाइप्रति उदासीनता देखिने कपिलवस्तुको विजयनगर गाउँपालिका आज सफा, सुन्दर र व्यवस्थित बस्तीका रूपमा परिचित बन्दै गएको छ । यो परिवर्तन कुनै संयोग होइन, गाउँपालिकाले आठ वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको सरसफाइ अभियानको परिणाम  रहेको हो।

स्थानीय सरकार, विद्यालय, महिला समूह, युवा क्लब र समुदायको सक्रिय सहकार्यमा सञ्चालन गरिएको अभियानले सरसफाइलाई अभियानबाट नागरिकको संस्कारमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । जनचेतनामूलक कार्यक्रम, फोहोर दौड प्रतियोगिता, घरदैलो अभियान, विद्यालयकेन्द्रित गतिविधि तथा नागरिक सहभागिताले सरसफाइप्रतिको सोच र व्यवहारमा उल्लेखनीय परिवर्तन ल्याएको  पाएको छ ।

करिब आठ वर्षअघि गाउँका सडक, सार्वजनिक स्थल, चोक तथा बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति सामान्य थियो। फोहोर व्यवस्थापनको अभाव थियो भने केही परिवार खुला स्थानमै शौच गर्न बाध्य थिए । सरसफाइलाई व्यक्तिगत जिम्मेवारीभन्दा अरू कसैको काम ठान्ने मानसिकता पनि व्यापक थियो।

यही अवस्थालाई परिवर्तन गर्ने लक्ष्यसहित गाउँपालिकाले सरसफाइ अभियान सुरु गरेको थियो। अभियान बिस्तारै  अगाडि बढाउँदै  गएपछि अहिले गाउँका सडक, टोल र सार्वजनिक स्थलहरू पहिलेभन्दा धेरै सफा, सुन्दर र व्यवस्थित देखिन थालेका छन्।

अधिकांश घरमा शौचालयको नियमित प्रयोग भइरहेको छ भने घरघरमै फोहोर व्यवस्थापन र वातावरण संरक्षणका अभ्यास पनि बढेको पाएको छ ।  गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले सरसफाइ अभियानले विजयनगरको पहिचान नै बदलिदिएको बताएका छन् । थापाले भने, ‘स्वच्छ वातावरण प्रत्येक नागरिकको आधारभूत अधिकार हो आठ वर्षअघि सुरु गरिएको अभियानले आज विजयनगरलाई सफा, सुन्दर र व्यवस्थित गाउँपालिकाका रूपमा चिनाउन सफल भएको छ । यो उपलब्धि सम्पूर्ण नागरिक, महिला समूह, युवा क्लब, विद्यालय, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको साझा प्रयासको परिणाम हो।’ 

थापाले वैज्ञानिक फोहोर व्यवस्थापन, स्रोतमै फोहोर वर्गीकरण, पुनः प्रयोग तथा हरित वातावरण प्रवर्द्धनका कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाइने बताएका छन् । 

यसैबिच गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले सरसफाइ अभियानलाई सफल बनाउन जनप्रतिनिधि, कर्मचारी, विद्यालय, समुदाय र नागरिकबिचको समन्वय नै मुख्य आधार रहेको बताएका छन् । 

याे कुनै एक दिनको कार्यक्रम नभएर निरन्तर अपनाउनुपर्ने जीवनशैली भएकाे विश्वकर्माले बताए । विगत आठ वर्षदेखि गाउँपालिकाले सञ्चालन गरेको अभियानले नागरिकमा सकारात्मक चेतनाको विकास गरेको उनकाे दाबी छ । अहिले सरसफाइप्रति नागरिक स्वयं जिम्मेवार बन्दै गएका छन, जुन हाम्रो सबैभन्दा ठुलो उपलब्धि हो । आगामी दिनमा फोहोरको स्रोतमै वर्गीकरण, वैज्ञानिक व्यवस्थापन, पुनः प्रयोग तथा वातावरण संरक्षणलाई थप प्रभावकारी बनाउँदै स्वच्छ, स्वस्थ र हरित विजयनगर निर्माणमा गाउँपालिका प्रतिबद्ध रहने बताएका छन् । 

गाउँपालिकाका वास संयोजक अर्जुन बेल्बासेका अनुसार सुरुवाती चरणमा अभियान चुनौतीपूर्ण भए पनि निरन्तर जनचेतना र समुदायको साथले उल्लेखनीय सफलता प्राप्त भएको  बताएका छन् ।  बेल्वासेका अनुसार सुरुमा धेरै ठाउँमा फोहोर जथाभावी फालिन्थ्यो, सार्वजनिक स्थलहरू अस्तव्यस्त थिए र सरसफाइप्रति नागरिकको चासो कम थियो। तर, निरन्तर जनचेतना, विद्यालय, महिला समूह, युवा क्लब र समुदायको सक्रिय सहभागिताले आज अवस्था पूर्ण रूपमा बदलिएको छ। अहिले सरसफाइ गाउँवासीको दैनिकी बन्दै गएको  उनले बताए। उनका अनुसार आगामी दिनमा फोहोरको स्रोतमै व्यवस्थापन, पुनः प्रयोग तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी रूपमा विस्तार गरिनेछ। 

See More On

सुझावित समाचार