लुम्बिनीमा चलाउन एडिबीले अनुदान दिएका पाँच विद्युतीय बस साढे ६ वर्ष सम्म थन्क्याइएको छ ।
एडिबीले नै अनुदानमा दिएका १४ विद्युतीय भ्यानको अवस्था झन् दयनीय छ । तीमध्ये लुम्बिनी विकास कोषपरिसरमा ६, कर्मचारी क्वार्टरमा चार तथा पार्किङस्थल र ग्यारेजमा दुई–दुईवटा छन् । गुड्न सक्ने अवस्थाका भने ६ भ्यान मात्रै छन् ।
बुद्ध जन्मस्थल लुम्बिनीको प्रदूषण नियन्त्रण र पर्यटकलाई सहज यात्राका लागि भन्दै एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्लिन इनर्जी परियोजनामार्फत १२ करोड अनुदानमा पाँच विद्युतीय बस र १४ भ्यान ०७७ मंसिरमा नेपाललाई निःशुल्क उपलब्ध भयो । तर, लुम्बिनी विकास कोषले सहयोग प्राप्त भएको साढे ६ वर्षसम्म पनि बस चलाउन सकेन, बरु अहिले पाँचवटा बस गौतम बुद्ध, नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थल पठाइएको छ ।
यी भ्यान कोषका पदाधिकारी र कर्मचारीले व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गरेको स्रोत बताउँछ । उनीहरूले चलाउने क्रममा टायर बिग्रिएपछि थन्किएका गाडीबाट झिकेर फेर्ने गरेका छन् । जसका कारण कतिपय भ्यान इँटाको टेकोमा चौरमा अलपत्र देखिन्छन् । यसअघि गाडी सञ्चालनका लागि तत्कालीन कोषाध्यक्ष ढुण्डीराज भट्टराईको संयोजकत्वमा गठित कार्यदलले भाडा दररेट, बुकिङ प्रणाली र सञ्चालन मस्यौदा कार्यविधि तयार गरी तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई प्रतिवेदन बुझाए पनि सञ्चालन भने हुन सकेन ।