युनिक नेपाल लघुवित्तको विशेष साधारणसभा सम्पन्न, जीवन विकास र मानुषीसँग मर्जर प्रस्ताव सर्वसम्मत पारित

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो विशेष साधारणसभा सम्पन्न भएको छ। बैंक जिल्लाको कोहलपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर (एकीकरण)सम्बन्धी विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

संस्थाका संस्थापक तथा सर्वसाधारण सेयरधनीहरूको भौतिक उपस्थितिसँगै विभिन्न स्थानबाट रियल टाइम अनलाइन माध्यमबाट सहभागिता रहेको उक्त सभामा सञ्चालक समितिका तर्फबाट प्रस्तुत मर्जरसम्बन्धी प्रतिवेदन अनुमोदन गरिएको हो। सभाको निर्णयसँगै युनिक नेपाल र जीवन विकासबिचको एकीकरण प्रक्रिया थप सुनिश्चित भएको संस्थाले जनाएको छ।

सभाले मर्जर प्रक्रियासँग सम्बन्धित हालसम्म भएका निर्णय, खर्च विवरण, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक अनुमोदन, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय गरिएको सेयर आदानप्रदान अनुपात स्वीकृत गर्ने निर्णय पनि गरेको छ। युनिक नेपाल, जीवन विकास र मानुषी लघुवित्तबिचको सेयर आदान–प्रदान अनुपात क्रमशः १:१:०.८१ कायम गरिएको छ।

त्यसैगरी, मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्र, व्यावसायिक योजना तथा प्रक्षेपण स्वीकृत गर्दै आवश्यक थप कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरिएको छ। विशेष साधारणसभामा भौतिक, अनलाइन तथा प्रोक्सीमार्फत गरी कुल ६४.३७ प्रतिशत सेयर प्रतिनिधित्व भएको जानकारी दिइएको छ। सभामा प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएका थिए।

उक्त विशेष साधारणसभा संस्थाका सञ्चालक समिति अध्यक्ष शिवबहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। मर्जर प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित संस्थाहरूको वित्तीय तथा संस्थागत क्षमता थप सुदृढ हुने अपेक्षा गरिएको छ।

सुझावित समाचार