नवजात शिशु हत्या तथा हाडनाता करणी आरोपमा फरार प्रतिवादी पक्राउ

बिहिबार, ११ असार, २०८३
डिजिटल संस्करण

नवजात शिशुको हत्या तथा हाडनाता करणी (आफ्नै छोरीमाथि बलात्कार)सम्बन्धी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति ०८३ वैशाख २ गते झापा जिल्लाको एक खाली जमिनमा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेको थियो। घटनाको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले अनुसन्धान थालेको थियो।

अनुसन्धानका क्रममा पीडित किशोरीले आफ्नै बुबाले जबर्जस्ती करणी गरेको, त्यसबाट जन्मिएको शिशुको शव बुबाकै सल्लाहमा गाडिएको प्रारम्भिक बयान दिएकी थिइन्। त्यसपछि नवजात शिशु हत्या तथा हाडनाता करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका प्रतिवादीको खोजीका क्रममा प्राविधिक अनुसन्धानबाट उनी रोल्पा जिल्ला क्षेत्रमा लुकेर बसेको खुल्न आएको थियो। विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका उनलाई विशेष सूचनाको आधारमा मिति ०८३ असार ३ गते फिक्कल बजारस्थित एक होटेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादी आफ्नी छोरीसँगै बसिरहेको अवस्थामा फेला परेका थिए। उनलाई असार ४ गते झिलझिले ल्याई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ। पीडित किशोरीलाई हाल आफन्त नेपालको संरक्षणमा राखिएको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

See More On

सुझावित समाचार