रौतहट प्रहरीले आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार फतुवा विजयपुर नगरपालिका– ६, पेटभर्वा टोलनिवासी ४२ वर्षीय महन्थ राय यादवले गत फागुन ३ गते धारिलो हतियार (बन्चरो) प्रयोग गरी आफ्नी ३२ वर्षीया श्रीमती आरतीदेवी यादवको हत्या गरेका थिए। हत्या आफ्नै घरको सुत्ने कोठामा भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका यादवको खोजीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो। निरन्तर खोजतलास र प्राविधिक विश्लेषणका आधारमा प्रहरीले उनलाई फतुवा विजयपुर नगरपालिका– ८, विजयपुर क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वसन्त गौतमका अनुसार घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।