काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन् । असार १० गतेभित्र स्थानीय तहहरूले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार काभ्रेपालञ्चोक जिल्लाका सबै स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सार्वजनिक बजेटअनुसार काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहहरूमध्ये सबैभन्दा बढी बजेट पनौती नगरपालिकाले सार्वजनिक गरेको छ। नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ९६ करोड ९५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
त्यसैगरी जिल्लामा सबैभन्दा कम बजेट खानीखोला गाउँपालिकाले सार्वजनिक गरेका छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड पाँच लाख ५५ हजारकाे बजेट गाउँसभामा पेस गरेको छ। त्यसरी नै मन्डनदेउपुर नगरपालिकाले एक अर्ब ३१ करोड ६५ लाख, धुलिखेल नगरपालिकाले एक अर्ब २३ करोड २६ लाख ५४ हजार, बनेपा नगरपालिकाले एक अर्ब २१ करोड तीन लाख ४६ हजार ३८५, पाँचखाल नगरपालिकाले ९६ करोड ६१ लाख ९० हजार, नमोबुद्ध नगरपालिकाले ९१ करोड ३६ लाख ४३ हजार ९१८ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
त्यस्तै, रोशी गाउँपालिकाले ७२ करोड ९९ लाख ४२ हजार, महाभारत गाउँपालिकाले ६६ करोड ८९ लाख, बेथानचोक गाउँपालिकाल ६४ करोड ३५ लाख ६९ हजार, भुम्लु गाउँपालिकाले ६१ करोड २९ लाख १६ हजार ५९८ रुपैयाँ, चौँरीदेउराली गाउँपालिकाले ५६ करोड ७३ लाख ८२ हजार १८० र तेमाल गाउँपालिकाले ५३ करोड २७ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि सार्वजनिक बजेटले स्थानीय तहहरूको विकास प्राथमिकता, राजस्व क्षमता र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानको अवस्थालाई प्रतिबिम्बित गरेको छ। अधिकांश स्थानीय तहले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखेका छन् ।