लुम्बिनीमा सत्तापक्षकै ‘सांसद’हरू बजेटको विरोधमा उत्रिएपछि आज पनि प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको छ। हिजो बैठक सुरु भएलगत्तै सत्तापक्षका केही सांसदसहित प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएपछि आधा घण्टाका लागि स्थगित बैठक बस्न सकेको थिएन । हिजो सूचना जारी गरेर आज बस्ने गरी तय गरिएकोमा आज पुन: सूचना जारी गरेर भोलिसम्मका लागि स्थगित गरिएको छ ।
बजेट मुख्यमन्त्री र मन्त्रीमुखी भएको भन्दै सत्तापक्षसहित विपक्षी दलका सांसदहरूले विरोध जनाएपछि मंगलबार दिउँसो बसेको प्रदेश सभा बैठक स्थगित भएको थियो । बैठक सुरु भएलगत्तै सभामुख तुलाराम घर्तीमगर कार्यसूचीमा प्रवेश गर्न खोजेका थिए ।
तर, प्रदेश सभाका केही सदस्यहरू (सांसद)हरूले उभिएर विरोध जनाएपछि सहमतिका लागि भन्दै आधा घण्टाका लागि बैठक स्थगित गरिएको थियो । तर, दलहरूबिच सहमति जुट्न नसकेपछि मंगलबार बैठक बस्न सकेन । मंगलबार जारी सूचनाअनुसार बुधबार दिउँसो १ बजेका लागि बैठक तय गरिएको थियो । तर, आज सहमति नजुटेपछि भोलिका लागि तय गरिएको छ ।
