कैलालीमा केही दिनयता अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित बनेको छ । दिउँसोको समयमा घरबाहिर निस्केर हिँडडुल गर्न मुस्किल हुनथालेको छ । प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढी अत्यधिक गर्मीका कारण दिउँसो सुनसान हुने गरेको छ ।
पछिल्लो केही दिनयता अधिकतम र न्यूनतम तापक्रम हाराहारी मापन भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय अत्तरियाका अनुसार सोमबार यहाँको अधिकतम तापक्रम ३८.९ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २७.६ डिग्री सेल्सियस मापन भएको छ ।
आगामी तीन दिनसम्म यहाँ पानी पर्ने सम्भावना नरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पानी नपरेकाले तराईमा गर्मी धेरै महसुस भएको शाहले बताए ।
चर्को गर्मीका वेला पटक–पटक विद्युत् जान थालेपछि सर्वसाधारणको दैनिक थप कष्टकर बनेको छ । गर्मी अत्यधिक बढेपछि धनगढीका विद्यालयमा तीन दिन बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाले संस्थागत र सामुदायिक सबै विद्यालयमा बिदा दिएको सूचना जारी गरेको छ ।