विद्यार्थीहरूलाई स्वस्थ राख्नका लागि दाङकाे तुलसीपुरमा शिक्षकहरूलाई अभिमुखीकरण प्रदान गरिएको छ । शिक्षकले भनेको कुरा विद्यार्थीले सहजै स्वीकार गर्ने भएकाले शिक्षकहरूमार्फत विद्यार्थीलाई स्वस्थ खानपानी, आनीबानी सुधार गर्नका लागि शिक्षकहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सोमबार यस्तो अभिमुखीकरण प्रदान गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाको आयोजनामा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य शिक्षकहरूलाई अभिमुखीकरण प्रदान गरिएको उपमहानगरपालिकाका वरिष्ठ कविराज निरीक्षक रजनी रोकायले बताइन्। उनका अनुसार शिक्षकलाई आयुर्वेद तथा योग शिक्षा र स्वस्थकर जीवनशैलीसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो ।
त्यस राप्ती प्रादेशिक आयुर्वेद औषधालयका प्रमुख डा. मदन बिसीले घरमै बनेका अर्गानिक खानेकुरातर्फ विद्यार्थीलाई आकर्षित गर्न शिक्षकहरूले भूमिका खेल्नुपर्ने बताए। उनले घरमै बनेका खानपानहरू आयुर्वेद औषधिजन्य गुण भएका खानेकुरा भएकाले पनि यस्तो कुरामा शिक्षकहरूले विद्यार्थीलाई सचेत बनाउनुपर्ने बताए। पछिल्लो समय विद्यार्थीहरूमा ‘अस्वस्थकर खाना’ खाने प्रवृत्ति बढेको भन्दै यसले स्वास्थ्यमा निकै असर गर्नेसमेत उनको भनाइ थियो ।
विद्यार्थीहरूलाई नसर्ने र कुपोषण रोगबाट जोगाउनका लागि यस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीले बताए ।