भक्तपुरको नगरकोटमा गएराति सामान्य विवादका क्रममा भएको झै-झगडामा चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीकाे मिथिला नगरपालिका– ९ घर भई हाल भक्तपुरको नगरकोटमोड बस्दै आएका २८ वर्षीय आकाश रसाइलीको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
उपचारकै क्रममा निधन
भक्तपुर नगरपालिका– १, नगरकोटस्थित सडकखण्डमा असार ८ गते राति करिब २२:०० बजे सामान्य विवाद हुँदा रसाइलीमाथि चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल, सिनामंगल पठाइएको थियो । अस्पतालमा उपचारकै क्रममा आज (असार ९ गते) बिहान ०६:१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीनजना नियन्त्रणमा
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीनजनालाई सल्लाघारीबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा:
आयुष कार्की (३१ वर्ष)– त्रियुगा नगरपालिका- १३, उदयपुर (हाल सल्लाघारी)
दोर्जे शेर्पा (२७ वर्ष)– दमक नगरपालिका- ३, झापा (हाल सल्लाघारी)
रमेश कुँवर (३५ वर्ष)– तम्घास, गुल्मी (हाल सल्लाघारी)
पक्राउ परेका तीनैजनालाई नियन्त्रणमा राखी घटनाको मुख्य कारण र संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।