सरकारले नेपाली चिया निर्यात क्षेत्रमा देखिएका समस्या पहिचान तथा समाधानका उपाय सुझाउन विशेष कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलले चिया निर्यातसँग सम्बन्धित चुनौतीहरूको विस्तृत अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानसहितको प्रतिवेदन पेस गर्नेछ।
कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवलाई बनाइएको छ।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहनेछ।
यसैगरी, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव पनि सदस्य रहने जनाइएको छ।
कार्यदलको सदस्यसचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई दिइएको छ।