पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनाको जोखिम अब केवल मादकपदार्थ सेवनमा मात्रै सीमित नरहेको पाइएको छ। रौतहटको चन्द्रनिगाहपुरमा ट्राफिक सप्ताहअन्तर्गत सोमबार बिहान जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष जाँचका क्रममा लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाएको पाइएको हो।
सवारीचालकको आँखा, प्रेसर, मादकपदार्थ तथा लागुऔषध सेवनसम्बन्धी परीक्षण गर्दा जाँचमा परेका १४ चालकमध्ये तीनजनाले लापसे गरेको भेटिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए।
प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गमा चल्ने साना सवारीसाधनका चालकहरूले लापसे गरेरै गाडी चलाउने प्रवृत्ति बढ्दै गएको संकेत देखिएको छ। जाँचका क्रममा बा.प्र. ०१–०३३ च ५७०९ नम्बरको पिकअप बारादेखि सर्लाहीतर्फ जाँदै गरेको अवस्थामा रोकिएको थियो। उक्त गाडीका चालक बाराको कोल्हवी नगरपालिका– २ निवासी २२ वर्षीय अर्जुन माझीले लापसे गरेको पुष्टि भएको प्रहरीले जनाएको छ।
यस्तै, बिआर ०७ पिसी ०४२६ नम्बरको स्कार्पियो चितवनदेखि सप्तरीतर्फ जाँदै गर्दा जाँचमा परेको थियो। सप्तरीको बोदेबर्साइन नगरपालिका– १ निवासी २९ वर्षीय चालक राधेश्याम यादवले पनि लापसे गरेर सवारी चलाएको पाइएको प्रहरीले जनाएको छ। त्यसैगरी सिमराबाट बर्दीबासतर्फ जाँदै गरेको ना.४च ८७०५ नम्बरको बोलेरोका चालक सिमरा उपमहानगरपालिका– ४, औराहानिवासी २८ वर्षीय सञ्जय मेस्तरले पनि लापसे गरेको भेटियो।
लापसे गरेर सवारी चलाएको पाइएपछि तीनैजना चालकलाई नियन्त्रणमा लिएर राखिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रूपा लामाले जानकारी दिइन्।