कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको दीर्घ तथा कडा रोगका बिरामीलाई उपचार सहायता कार्यक्रम प्रभावकारी बन्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका नागरिकलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको कार्यक्रममार्फत चालू आर्थिक वर्षको हालसम्म १९२ बिरामीले सेवा लिएका छन्।
आइतबार सल्यान खलंगामा आयोजित स्वास्थ्य प्रवर्द्धनसम्बन्धी मिडियाकर्मीहरूका लागि सञ्चार तथा पैरवी कार्यक्रममा यस्तो जानकारी दिइएको हो। प्रदेश सरकारले मुटु रोग, मिर्गौला रोग, क्यान्सर, अल्जाइमर्स, स्पाइनल इन्जुरी, एनिमिया तथा रिकेट्सजस्ता जटिल तथा दीर्घकालीन रोगको उपचारमा आर्थिक सहायता प्रदान गर्दै आएको छ। आर्थिक वर्ष ०८१/८२ को साउन १ गतेदेखि उपचार गराएका बिरामीलाई उपचार सहायता उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै जाँदा यसको प्रभावकारितासमेत देखिन थालेको छ। उनले हालसम्म प्रदेशका विभिन्न जिल्लाबाट १९२ बिरामीले उपचार सहायता प्राप्त गरिसकेको जानकारी दिए। निर्देशनालयका अनुसार सेवा लिनेमध्ये सबैभन्दा बढी सुर्खेत जिल्लाका १०९ जना छन्। त्यसैगरी दैलेखका ४४, कालीकोटका एक, जाजरकोटका ११, हुम्लाका सात, जुम्लाका ६, सल्यानका तीन र रुकुम पश्चिमका एक बिरामीले सेवा लिएका छन्। यद्यपि, डोल्पा र मुगु जिल्लाबाट हालसम्म कुनै पनि बिरामीले उक्त सुविधा उपयोग गरेका छैनन्।
कार्यक्रमबाट लाभान्वित हुनेमध्ये ७९ जना महिला र ११३ जना पुरुष छन्। सुरुमा कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, बिरामीको संख्या अपेक्षाभन्दा बढी भएपछि थप एक करोड रुपैयाँ बजेट व्यवस्थापन गरिएको छ। यससँगै हालसम्म कार्यक्रमका लागि कुल दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनस्वास्थ्य अधिकृत सिंहले जानकारी दिए।
पछिल्लो समय सर्ने रोगभन्दा नसर्ने रोगले जनस्वास्थ्यमा ठुलो चुनौती सिर्जना गरिरहेको सल्यान जिल्ला अस्पतालका डा. कृष्ण डिसीले बताए। बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी, मदिरा तथा सुर्तीजन्य पदार्थको प्रयोग, मानसिक तनावलगायतका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको उनको भनाइ छ।
नेपालमा क्यान्सर, मधुमेह, उच्च रक्तचाप, मुटुरोग, मिर्गौला रोग तथा श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्याहरू प्रमुख स्वास्थ्य चुनौतीका रूपमा देखिएको डिसीले बताए। स्वास्थ्य सेवा निर्देशनालयले आगामी दिनमा कार्यक्रमबारे थप प्रचारप्रसार गर्दै दुर्गम जिल्लाका नागरिकलाई समेत लाभान्वित गराउने योजना बनाएको जनाएको छ।