कोटेश्वर–जडीबुटी क्षेत्रमा यात्रुलाई दुःख तथा हैरानी दिने १० जना पक्राउ

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कोटेश्वर–जडीबुटी क्षेत्रमा सार्वजनिक सवारीसाधन प्रयोग गर्ने यात्रुलाई दुःख तथा हैरानी दिने कार्यमा संलग्न १० जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका– ३२ अन्तर्गत कोटेश्वर–जडीबुटी क्षेत्रमा सञ्चालन भइरहेका यातायात काउन्टरका कर्मचारी, सवारीचालक तथा सहचालकहरूले यात्रु तान्ने, यात्रुसँग रहेका झोला खोस्ने तथा अनावश्यक हैरानी दिने गरेको सार्वजनिक गुनासो प्राप्त भएपछि विशेष निगरानी तथा अनुगमन गरिएको थियो।

अनुगमनका क्रममा सार्वजनिक सवारी प्रयोग गर्ने यात्रुलाई जबर्जस्ती तान्ने, सामान खोस्नेलगायतका गतिविधिमा संलग्न रहेको आरोपमा १० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा परेकाहरूमा धनुषा, दोलखा, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र ओखलढुंगाका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। पक्राउ परेकामध्ये अधिकांश यातायात क्षेत्रसँग आबद्ध कर्मचारी, चालक तथा सहचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले यात्रुको सुरक्षा तथा सहज यात्रालाई प्रभावित गर्ने यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ। साथै यात्रुहरूलाई कुनै पनि प्रकारको जबर्जस्ती, ठगी वा हैरानीको सामना गर्नुपरेमा तत्काल नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

See More On

सुझावित समाचार