राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुर, चितवनमा जारी छ। प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्र आज विभिन्न प्रतिवेदनमाथि छलफल तथा महत्त्वपूर्ण संगठनात्मक निर्णयका कार्यक्रमसहित सञ्चालन हुँदै छ।
भरतपुरमा जारी महाधिवेशनमा अनुशासन आयोगको प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरी छलफल गरिने कार्यसूची छ। त्यस्तै, पार्टी विधानमाथि छलफल गरी पारित गर्ने तथा सभापतिद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल गरेर अनुमोदन गर्ने कार्यक्रम रहेको छ।
दिउँसो सभापतिले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। साथै आयोजक समितिले निर्वाचनसम्बन्धी सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको छ।
भोजनपछि निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र कार्यतालिका सार्वजनिक गरिनेछ। त्यसपछि निर्वाचन आयोगले सार्वजनिक गर्ने तालिकाअनुसार नेतृत्व चयनसम्बन्धी प्रक्रिया अगाडि बढाइने जनाइएको छ।