रवि–बालेनको साझा प्रतिबद्धता : जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरूले प्रथम महाधिवेशनको उद्घाटन सत्रबाट जनादेशको सम्मान, सुशासनको अभियान र राष्ट्रिय मुद्दामा सबै दलसँग सहकार्य गर्ने संकल्प गरेका छन् । उनीहरूले दुईतिहाइ जनमतलाई परिवर्तनको जनादेशका रूपमा व्याख्या गर्दै रास्वपालाई आन्दोलनको शक्ति मात्र नभई दीर्घकालीन शासन क्षमता भएको संस्थागत राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् । साथै उनीहरूले सुशासन र सेवा प्रवाहमा सरकारको गति नरोकिने र पार्टीलाई गुटबन्दीको दलदलमा फस्न नदिनेसमेत बताएका छन् । 

सभापति रवि लामिछानेले अघिल्लो पुस्ता र नेतृत्वले दिएका लोकतन्त्रका स्थायी मान्यतालाई रास्वपाले जोगाउने बताए । ‘संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक–अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज र समावेशितालगायतका थुप्रै उपहार अघिल्लो पुस्ता र नेतृत्वबाट पाएका छौँ,’ लामिछानेले व्यवस्थाप्रति आफ्ना प्रतिबद्धता दोहो¥याउँदै भने, ‘हामी त्यसबाट बाहिर जानेछैनौँ । यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुनेछैन । त्यो कदम हामी कदापि चाल्नेछैनौँ । रास्वपाले त्यो लाइन क्रस गर्दैन ।’

सभापति लामिछानेले बाहिर बसेर खबरदारी गर्दा नसुनिएपछि बाध्यताले राजनीतिमा आएको र पुराना दलले अति गरेपछि जनताले रास्वपालाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको दाबी गरे । साथै उनले रास्वपाको नेतृत्वमा देश सुरक्षित रहेको दाबी गरे । ‘शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्ने होइन । रास्वपा प्रतिशोध र दम्भबाट निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा जनमत बोकेर उपस्थित भएको छ । देश रास्वपाको हातमा छ र देश सुरक्षित छ,’ उनले भने । 

लामिछानेले राष्ट्रिय राजनीतिमा आफ्नो दल मात्र ठिक भएर नहुने भन्दै उनले दुई शक्तिशाली दल कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा (आन्तरिक विवाद) सुल्झाउन सुझाव दिए । साथै उनले राष्ट्रहितमा साझा प्रतिबद्धतासहित सबै राष्ट्रिय शक्तिसँग सहकार्य गर्नेसमेत बताए । ‘ती अप्ठ्यारा ती दलको मात्र होइन । ती सुल्झिएनन् भने समग्रमा ती देशकै अप्ठ्यारा पनि बन्न सक्छन् । मेरो शुभकामना छ– आफ्नो दलभित्रका अप्ठ्यारा मिलाउनुहोला । सुल्झिए देश राम्रो बाटोमा जानेछ,’ उनले भने, ‘यसअगाडि राजनीतिक दलहरू प्रतिस्पर्धी बने । हामीलाई प्रतिस्पर्धा गर्ने छुट छैन । हाम्रा व्यक्तिगत वैमनस्यता सकिनुपर्छ, अहिले यहीँबाट सकिनुपर्छ । वैमनस्यता बोकेर बाँच्ने होइन, हामी ठुलो हृदय बोकेका राजनीतिज्ञ बन्नुपर्नेछ । हामीले एक–अर्कालाई जवाफ दिनुपर्दैन । हामीले इतिहासलाई जवाफ दिनुपर्छ । इतिहासका लागि पनि हामी सहकार्यको बाटोमा अगाडि बढ्नुपर्ने आवश्यकता परेको छ ।’

सभापति लामिछानेले पार्टीभित्र गुटगत राजनीति नगर्न अपिल गरे । उनले आफूले जलेश्वर बैठकको वेलामा राजनीतिक प्रतिवेदनमा लेखेको दुईवटा विषय स्मरणसमेत गराए । ‘पहिलो लेखेको थिएँ– रास्वपा लड्यो भने आफ्नै बोर्डमा अल्झेर लड्छ, अरू कसैको ताकत छैन रास्वपालाई लडाउने । आज यसलाई अझ बढी सार्थक बनाउने वेला आएको छ । हो, जब धेरैको मन जित्न सकिँदैन त्यसपछि त्यहीँको मन जितेर राजनीतिमा अगाडि बढ्ने प्रचलन चलेको छ । तर, त्यो प्रचलनको बिउ हामीले रोप्नुहुँदैन । त्यो बिउ हुर्कियो, बढ्यो, फुल्यो र फल्यो भने के हुन्छ देखिसकेका छौँ,’ कांग्रेस–एमालेभित्रका विवादतर्फ संकेत गर्दै उनले भने, ‘त्यसकारणले गुट र उपगुटको बिउ रोप्यौँ भने त्यसले दिने फल विषालु फल हुनेछ र त्यो फल यदि फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्थामा पुग्नेछौँ । यतिखेर हामी कस्तो फल रोप्ने भन्ने ठिक समयमा छौँ । विगतका राजनीतिक दलका अनुभव हेरेर अगाडि बढ्ने हो, रास्वपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन । निर्धक्कका साथ भन्न सक्दछु ।’

उनले केही वैमनस्यता वा समस्या रहेछन् भने महाधिवेशन त्यसलाई अन्त्य गर्ने एउटा महŒवपूर्ण विन्दु बन्ने आफूले अपेक्षा लिएको बताए ।सभापति लामिछानेले रास्वपाको विचार स्पष्ट हुँदा पनि त्यसअनुसार प्रचार नगरिएको गुनासो पनि गरे । ‘रास्वपाका अबका दस्ताबेजलाई हचुवाको भरमा होइन, गहन अध्ययन गरेर यसमा विद्वत् समूहले विश्लेषण गर्नेछ भन्नेमा म आशावादी छु । हाम्रा साथी स्वस्थ प्रतिस्पर्धा गर्नुहुनेछ । साथै सरकार जुन आशा र भरोसामा उभिएको छ त्यसमा खरो उत्रिनेछ,’ उनले भने । 

सभापति लामिछानेले प्रधानमन्त्री बालेन र आफूबिचको सहमति भत्काउन अनेक प्रयास हुन सक्नेमा आफू सचेत रहेको र इतिहासका लागि आफूले इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने बताए । ‘लडाउने, ढलाउने र फाटो ल्याउने प्रयास त निकै हुनेछ । यस ऐतिहासिक स्थानमा उभिएर भन्न चाहन्छु– हामीले नेपाली जनता र इतिहासलाई साक्षी राखेर रास्वपामा जुन सहमति गरेका छौँ, त्यो सहमतिको एक–एक अक्षर इमानदारिताका साथ पालना गर्ने प्रण म गर्न चाहन्छु । यो हाम्रो निजी कुरो होइन । इतिहासलाई जवाफ दिनुपर्नेछ । व्यक्तिको इच्छा ठुलो कुरो होइन,’ उनले भने, ‘त्यसकारण सरकार सञ्चालन गर्नको निमित्त रास्वपाले चुनावअगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ ।

अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्री बालेन शाहजीको हुनेछ र उहाँले त्यसको निरन्तर दिइरहनुभएको छ । झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यसलाई त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो । किनकि यहाँ मुख मिठ्याउने धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन् । म तिनलाई जवाफ दिन बोलिरहेको छैन, इतिहासलाई जवाफ दिनको लागि खडा भएर बोलिरहेको छु ।’

लामिछानेले थपे, ‘किनभने आजको दिन त बितेर जानेछ, भोलि फेरि सन्ततिहरूले सोध्ने छन्– इतिहासले तिमीहरूलाई मौका दिएको थियो, इतिहासले तिमीहरूलाई पहिलो महाधिवेशनभन्दा पनि अगाडि जनमत दिएको थियो । आज जन्मेकाहरूले मात्र होइन, भोलि यस देशमा, यस धर्तीमा जन्मेकाहरूले पनि मलाई र बालेनजीलाई प्रश्न गर्नेछन्– यो मौकालाई तिमीहरूले किन गुमाउन दियौ ? हामी त्यो प्रश्नलाई सदाका लागि भाँच्न चाहन्छौँ । इमानदारिताका साथ त्यो अवसर सदुपयोग गर्न चाहन्छौँ । हाम्रा लागि होइन, आउने सन्ततिका लागि । जन्मिसकेकाका लागि मात्र होइन, जन्मन बाँकी नागरिकका लागि पनि ।’

रास्वपा वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहले सरकार लामो दूरीमा हिँडेको र गन्तव्यमा पुगिसकेपछि मात्र रोकिने बताए । ‘सरकार भनेको त गाडीजस्तो हो । गाडीमा एक्सिलेटर मात्र होइन, ब्रेक पनि हुन्छ । ब्रेक पनि लाउनुपर्छ भनेर चिन्ता पनि मान्नुपर्छ । त्यस्तो चिन्ता लोकल रोडहरूमा हिँड्दा हो । गाडी सिधा गइराख्दा कहिले लेफ्टबाट गाडी आउँछ । कहिले राइटबाट मान्छेहरू आउँछन्,’ एमाले नेता ज्ञवालीले एक्सिलेटर मात्र होइन ब्रेक लाउनुपर्छ भनेकोमा जवाफ दिँदै शाहले भने, ‘तर, हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन । एक्सप्रेस–वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । गन्तव्यमा पुग्नुभन्दा अगाडि ब्रेक लाग्न जरुरी हुँदैन । र, हाम्रो गाडी अनियन्त्रित पनि छैन, वातावरण पनि मिलेर गएको छ ।’

उनले जनादेशलाई हावासँग तुलना गरेकामा पनि जवाफ फर्काए । ‘जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ । कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ । हामीले कुनै हावा चलाएका छैनौँ । हामीले बाढी ल्याएर खोला फर्काएको हो । र, खोला एकचोटि सिधा बाटो आफ्नो सही बाटोमा फर्किएपछि निरन्तर त्यही बाटो बगिरहन्छ । यो हावाजस्तो कहिले लेफ्ट–राइट, उत्तर–दक्षिण, पूर्व–पश्चिम बग्दैन,’ उनले भने ।

 प्रधानमन्त्री शाहले दुईतिहाइ सम्हालेर अगाडि बढ्नेसमेत बताए । ‘दुईतिहाइ आएको छ । यो मेन्टेन गर्न गाह्रो हुन्छ भन्ने कुरा आयो । तर, यहाँहरू सबैलाई म के भन्न चाहन्छु भने– हामीले स्पर्टलाइटमा ल्याएको होइन, जनतालाई ल्याएको हो । र, जनता सधैँ स्पर्टलाइटमा थियो, स्पर्टलाइटमा छ, स्पर्टलाइटमै रहन्छ । हामीलाई दिएको प्रकाश नेतालाई दिएको प्रकाश होइन । हाम्रो सूर्य नेताप्रति मात्रै चम्किँदैन । हाम्रो सूर्यले जनतालाई प्रकाशित गर्छ । त्यही भएर जनता सधैँ अगाडि नै रहन्छ,’ उनले भने । 

प्रधानमन्त्री बालेन्द्र शाहले महाधिवेशनबाट पार्टीलाई सुदृढ र बलियो बनाएर एक ठाउँमा ल्याउनुपर्ने बताए । ‘एउटा सानो महत्वाकांक्षा, सानो इच्छा, सानो देश बनाउने हुटहुटीले सुरु भएको पार्टी आज महाधिवेशनको पहिलो दिनसम्म आउँदै गर्दा आन्दोलन र भावनाको रूपमा भएको पार्टीलाई संस्थागत र स्थापित गर्ने दिनमा आउँदा हामीले धेरैजसो पार्टीलाई कसरी एक ठाउँमा ल्याउने भन्ने नै कुरा गर्नुपर्छ,’ उनले भने । 

उनले रास्वपा विकासवादी पार्टी भएको बताए । ‘हाम्रो पार्टीको चिन्तन लेफ्ट, राइट वा सेन्टर कस्तो हो भनेर धेरै चिन्ता लिइराख्नुपर्दैन । हाम्रो पार्टी विकासवादी पार्टी हो । विकास गर्ने, काम गर्ने पार्टी हो । अगाडि बढ्ने पार्टी हो । हामी प्रतिशोध साध्ने, पुरानो कुरा लिएर निहुँ खोज्दै बस्ने होइन । निहुँ खोज्नु परे अगाडि बढ्दै गर्दा निहुँ खोजिन्छ,’ उनले भने, ‘कस्तो केसमा भन्दा विगतका केही फटाइँमा । सरकारी सम्पत्तिको दोहन भएको छ भने त्यहाँनेर निहुँ खोज्न जरुरी हुन्छ । त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन, पाँच वर्ष गर्छौँ । पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । त्यसमा चिन्ता लिइराख्नुपर्दैन । हामी नियम–कानुन मिच्दैनौँ । नियममा बसेरै काम गर्छौँ।’ 

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल र सार्वजनिक बहसमा देखाइएजस्तो अवस्था नरहेको दाबी गर्दै सरकारका सबै गतिविधि नियन्त्रण र योजनाअनुसार अघि बढिरहेको बताए । विशेषगरी सीमासम्बन्धी विषयमा अनावश्यक आशंका नगर्न आग्रह गर्दै उनले सरकारसँग पर्याप्त प्रमाण र स्पष्ट अडान रहेको बताए । ‘कुनै पनि विषय नियन्त्रणबाहिर गएको छैन । सीमासम्बन्धी विषयमा पनि चिन्ता लिनुपर्ने अवस्था छैन । हामीले छिमेकी देशसँग सीमासम्बन्धी कुरा उठाउँदा स्वाभाविक रूपमा उनीहरूले पनि आफ्नो धारणा र आपत्ति राख्न सक्छन् । तर, हामीसँग तथ्य, प्रमाण र ऐतिहासिक आधार छन्,’ उनले भने, ‘कालापानी–लिपुलेकलगायतका विषयमा नेपालसँग पर्याप्त प्रमाण छ । सरकारले तथ्यका आधारमा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ ।’

नेपालले कुनै तेस्रो पक्षलाई मध्यस्थकर्ता बनाउन नखोजेको स्पष्ट पार्दै सीमा विवादका विषय द्विपक्षीय संवादबाटै समाधान गर्ने नीति लिएको उल्लेख गरे । ‘हामी आफ्ना छिमेकीसँग प्रत्यक्ष संवाद गरेर समाधान खोज्छौँ । हाम्रो दाबी प्रमाणमा आधारित छ र आवश्यक प्रमाण प्रस्तुत गर्न हामी तयार छौँ,’ उनले भने । सीमासम्बन्धी विषयलाई लिएर आफ्नो राष्ट्रवादमाथि प्रश्न उठाउने प्रयासप्रति पनि उनले असन्तुष्टि जनाए । ‘मेरो राष्ट्रप्रेम र राष्ट्रिय प्रतिबद्धतामाथि कुनै शंका गर्नुपर्ने कारण छैन,’ उनले भने, ‘राष्ट्रहितका विषयमा सरकार दृढ, स्पष्ट र जिम्मेवार ढंगले अघि बढिरहेको छ ।’ 

प्रधानमन्त्री शाहले पार्टीमा गुटगत गतिविधि नगर्न आग्रह गरे । उनले राम्रो राजनीतिक व्यक्ति जनताको माया जितेर हुने भन्दै कुनै समूहको पछाडि नलाग्न अनुरोध गरे । ‘त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाल्नु परोस् । त्यही भएर यस्तो बिउ रोप्ने काम यस्तो रुख पलाउने कामहरू हामी नगरौँ । हामीले पुरानाहरूबाट यो सिक्नुपर्छ,’ उनले भने । 

प्रधानमन्त्री शाहले रास्वपा हरेक चुनावमा एउटै एजेन्डा बोकेर नजाने बताए । ‘हामी यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौँ । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ,’ उनले भने, ‘अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’

आजदेखि बन्दसत्र
बन्दसत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीको संगठनात्मक प्रतिवेदन, केन्द्रीय लेखा आयोग, अनुशासन आयोग तथा निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन् । यससँगै विधान संशोधन प्रतिवेदन पनि छलफलका लागि पेस गरिनेछ ।

२ बजेदेखि निर्वाचन प्रक्रिया
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारहरूको अन्तिम नामावली राति ११ बजे सार्वजनिक गरिनेछ । मंगलबार बिहान ८: ३० बजेदेखि दिउँसो ३ बजेसम्म सभापति तथा केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ । निर्वाचन आयोगले मतदान सम्पन्न भएको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ । त्यसपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु हुनेछ । 

शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन : रवि

  • संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हक, अधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज र समावेशितालगायतका थुप्रै उपहार अघिल्लो पुस्ता र नेतृत्वबाट पाएका छौँ । हामी त्यसबाट बाहिर जानेछैनौँ । यसअगाडि भएका तमाम आन्दोलनहरूको तिरस्कार गर्ने साहस हामीमा हुनेछैन । रास्वपाले त्यो लाइन क्रस गर्दैन । 
  • रास्वपा लड्यो भने आफ्नै बोर्डमा अल्झेर लड्छ, अरू कसैको तागत छैन रास्वपालाई लडाउने । रास्वपालाई लडाउने अर्को कुनै पनि शक्ति अबको युगमा आउन सक्दैन । निर्धक्कका साथ भन्न सक्दछु ।
  • शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन । रास्वपा प्रतिशोध र दम्भबाट निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने जनमत बोकेर उपस्थित भएको छ । देश रास्वपाको हातमा छ र रास्वपाको नेतृत्वमा देश सुरक्षित छ ।
  • सरकार चलाउन रास्वपाले चुनावअगाडि नै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब फटाफट गोल हान्ने जिम्मा सम्माननीय प्रधानमन्त्रीजीको हुनेछ र उहाँले त्यसको निरन्तर दिइरहनुभएको छ । झुक्किएर त्यो बल कहीँ मकहाँ आएछ भने पनि त्यसलाई उहाँकै खुट्टामा पास गर्ने जिम्मा मेरो हो ।

सरकार एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ :  बालेन

  • सरकार भनेको गाडीजस्तो हो । हाम्रो गाडी लोकल रोडमा होइन, एक्सप्रेस वेमा हिँडेको हो । गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ । 
  • अख्तियारलाई सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी पाँच घण्टा मात्र होइन पाँच वर्ष गर्छौँ । पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । हामी नियम–कानुनमा बसेरै काम गर्छौँ ।
  • हामीले छिमेकी देशसँग सीमासम्बन्धी कुरा उठाउँदा स्वाभाविक रूपमा उनीहरूले पनि आफ्नो धारणा र आपत्ति राख्न सक्छन् । तर, हामीसँग तथ्य, प्रमाण र ऐतिहासिक आधार छन् । कालापानी–लिपुलेकलगायतका विषयमा नेपालसँग पर्याप्त प्रमाण छ । सरकारले तथ्यका आधारमा आफ्नो दाबी प्रस्तुत गरिरहेको छ ।
  • मेरो राष्ट्रप्रेम र राष्ट्रिय प्रतिबद्धतामाथि कुनै शंका गर्नुपर्ने कारण छैन । राष्ट्रहितका विषयमा सरकार दृढ, स्पष्ट र जिम्मेवार ढंगले अघि बढिरहेको छ ।
  • हामी यही कार्यकालमा सुकुमवासी समस्या र सहकारी समस्या समाधान गर्छौँ । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।

सुझावित समाचार