नेपाल सामुदायिक विद्यालय अभिभावक संघ, जिल्ला समिति ललितपुरको आयोजनामा ‘अभिभावक सचेतना तथा क्षमता विकास कार्यक्रम’ शनिबार ललितपुरमा सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा प्रशिक्षणसमेत दिइएको थियो ।
संघका अध्यक्ष शंकरप्रसाद भेटवालले अध्यक्षता गरेको कार्यक्रममा बागमती प्रदेशका सांसद रघुनाथ महर्जन प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद महर्जनले शिक्षा क्षेत्रमा लगाइएको तीन प्रतिशत कर तत्काल हटाउनुपर्ने माग राखे। बागमती प्रदेशका हरेक पालिका र प्रत्येक वार्डमा अभिभावक र विद्यार्थी लक्षित यस्ता चेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गरिनुपर्ने बताउँदै समाजलाई समृद्ध बनाउन र बालबालिकाहरूलाई सही मार्गनिर्देशन गर्न सबैभन्दा पहिले अभिभावकहरू स्वयं सचेत र सक्षम हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित ललितपुर महानगरपालिका वार्ड नं. १५ का अध्यक्ष सुरेशबहादुर शाहीले यसप्रकारको कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अभिभावक संघसँग मिलेर बागमती प्रदेशमा रहेका सामुदायिक विद्यालयहरूको नियमित अनुगमन, निरीक्षण र समन्वय गरिनुपर्ने बताए।
कार्यक्रमको मुख्य सत्रमा उपस्थित अभिभावकहरूलाई प्राध्यापक तथा डाक्टर ख्यातराज (खेटराज) दाहालले ‘सामुदायिक विद्यालय नेतृत्व तालिम’अन्तर्गत विशेष प्रशिक्षण प्रदान गरेका थिए। उनले बालबालिकाको सामाजिकीकरण, नियमित उपस्थिति, अनुशासन, आचारसंहिता, बालमैत्री वातावरण तथा पुरातन गुरुकुल पद्धति र आधुनिक शिक्षण पद्धतिका बारेमा गहन एवं व्याख्यातात्मक प्रशिक्षण दिए।

यस्तै, शिक्षाविद् दीपकराजा जोशी ‘चेतनाको भर्याङ–पठन संस्कृतिको महत्व’ र विज्ञ कुमार खतिवडा’सहभागी विद्यालय योजना, बजेट तथा जवाफदेहिता’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यक्रममा विशेष अतिथिहरू सरिता महर्जन, रामप्रसाद न्यौपाने, बद्री प्रसाद, रामहरिदास श्रेष्ठ, चन्द्रकुमारी, नेमप्रसाद दाहाल केसी, काठमाडौं जिल्ला समितिका वासुदेव अधिकारी, सल्लाहकार रामहरि श्रेष्ठलगायतका वक्ताहरूले पनि आ–आफ्नो धारणा राखेका थिए।
सामुदायिक विद्यालयका संघका केन्द्रीय महासचिव हरिप्रसाद तिमिल्सिनाले सामुदायिक विद्यालयमा पारदर्शिता, जवाफदेहिता र शिक्षाको गुणस्तरबारे मन्तव्य राखे। ललितपुर जिल्लाका दुर्गम महांकाल गाउँपालिका र बागमती गाउँपालिकाका विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरूसमेत गरी एक सयभन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।