रास्वपाले पहिलोपटक नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणाली (इलेक्ट्रोनिक भोटिङ) प्रयोग गर्ने भएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिनेछ भने १० वटा मेसिन परीक्षण तथा अभ्यासका लागि छुट्याइएको छ ।
प्रतिनिधिहरूले मतदानअघि नै ती मेसिन प्रयोग गर्ने तरिका सिक्न सक्ने व्यवस्था मिलाइएको छ ।
बुर्लाकोटीका अनुसार विद्युतीय मतदान प्रणालीमार्फत मतदान सम्पन्न भएको करिब दुई घण्टाभित्रै नतिजा सार्वजनिक गर्न सकिनेछ । ‘परम्परागत विधिबाट हजारौँ प्रतिनिधिले सयौँ उम्मेदवारका लागि मतदान गर्दा लाखौँ मतगणना गर्नुपर्ने अवस्था आउँछ, विद्युतीय प्रणालीले यो समय उल्लेखनीय रूपमा घटाउँछ र प्रतिनिधिलाई सहजता प्रदान गर्छ,’ उनले भने । उनका अनुसार यस व्यवस्थाले महाधिवेशनको समयसमेत छोट्याउनेछ । विदेशमा रहेका प्रतिनिधिका लागि पार्टीको मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।