पहिलो जितको खोजीमा स्पेन र साउदी

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण

पहिलो खेलमा नयाँ टोली केप भार्डेसँग अप्रत्याशित रूपमा बराबरीमा रोकिएको स्पेन आज साउदी अरेबियासँग खेल्दै छ । खेल अमेरिकाको एट्लान्टामा राति ९:४५ बजे सुरु हुनेछ । प्रतियोगितामा सन् २०१० को च्याम्पियन स्पेन र एसियाली मुलुक साउदी अरेबिया दुवै पहिलो जितको खोजीमा हुनेछन् । समूह ‘एच’का सुरुका दुवै खेलमा दुवै टोलीले अंक बाँडेका थिए । 

पहिलो खेलमा स्पेन केप भार्डेसँग गोलरहित बराबरीमा रोकिएको थियो । लुइस डे ला फुन्टेको टिमविरुद्ध केप भार्डेका ४० वर्षीय गोलकिपर भाजिन्हाले सानदार प्रदर्शन गरेका थिए । उनले एक दर्जनभन्दा बढी प्रहार विफल बनाएपछि स्पेन बराबरी खेल्न बाध्य भएको थियो । ४० वर्षको उमेरमा पनि प्रभावशाली प्रदर्शन गरेपछि भाजिन्हाको विश्वभर चर्चा चुलिएको छ । 

यसपटक भने उनीहरूलाई गोलको विकल्प छैन । स्पेन टोलीलाई नै जितको विकल्प रहेको छैन । त्यस्तै, एसियाली महारथी साउदी अरेबिया पनि स्पेनविरुद्ध उच्च मनोबलमा हुनेछ । एक त केप भार्डेले रोकेको । अर्को साउदीले नै उरुग्वेलाई पहिलो खेलमा १–१ को बराबरीमा रोकेको थियो । 

अझ साउदीले उरुग्वेविरुद्ध पहिलो हाफमै अग्रता बनाएको थियो । यद्यपि, फिफा वरीयतामा साउदीभन्दा स्पेन निकै बलियो रहेको छ । अहिलेको वरीयतामा स्पेन दोस्रो तथा साउदी अरेबिया ६१औँ स्थानमा छन् । विगतले पनि स्पेन नै बलियो भएको पुष्टि गरेको छ । सन् २००६ देखि सन् २०१२ सम्म दुई टिमबिच तीनपटक भेट भएको छ । जसमा तीनै भेट स्पेनको पक्षमा गएको छ ।

प्लेयर्स टु वाच

 रोड्री (स्पेन)
सन् २०२४ को बालोन डी ओर विजेता रोड्री अहिले स्पेनका कप्तान हुन् । पछिल्लो खेलमा केप भार्डेविरुद्ध उनी पूरै मिडफिल्डमा छाएका थिए । तर, टिमले गोल भने गर्न सकेन । उनले खेलभर ११६ पास निकालेको तथ्यांकले बताउँछ । तर, स्पेनको टिममा स्ट्राइकर चल्न सकेनन् । गोलकिपर भाजिन्हा चम्किएपछि स्पेनको २७ प्रहार खेर गएको थियो । रोड्रीलाई पुनः एकपटक साउदी अरेबियाविरुद्ध सेन्ट्रल मिडफिल्डमा पेड्री र गाभीले साथ दिनेछन् । म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीबाट स्पेनले पहिलो खेलझैँ प्रदर्शन आशा गरेको छ ।

सलिम अल दाबसरी (साउदी अरेबिया)
सलिम अल दाबसरी साउदी अरेबियाका स्ट्राइकर र कप्तान दुवै हुन् । सन् २०१० को स्पेनविरुद्ध प्रशिक्षकले सलिमलाई नै विश्वास गर्नेछन् । उनी तेस्रोपटक विश्वकप खेलिरहेकाले प्रस्ट अनुभव र रणनीति तयार पार्ने खुबी राख्छन् । ३४ वर्षीय खेलाडीले पछिल्लो दुवै संस्करणमा गोल गरेका थिए । यसपटक पनि उनी गोलकै खोजीमा छन् । अल हिलालका यी खेलाडीले पछिल्लो सिजनमा ३८ खेल खेल्दा ११ गोल गरे । ८ पास निकालेका थिए । सलिम साउदी अरेबियाका लागि सर्वाधिक २७ गोल गर्ने पहिलो खेलाडीसमेत हुन् । विश्वप्रसिद्ध स्पेनिस डिफेन्डर कुवार्सी, ऐमेरिक लोपोर्ट, मार्क कुकुरेला र मार्कुस लोरेन्टविरुद्ध सलिमको वास्तविक परीक्षण  हुनेछ । 
 

See More On

सुझावित समाचार