दमक–चिसोपानी ३३ किलोमिटर सडक : पुरानो ठेक्का तोडेको तीन वर्षपछि नयाँ आह्वान

आइतबार, ७ असार, २०८३
डिजिटल संस्करण
दमक–चिसोपानी ३३ किलोमिटर सडक : पुरानो ठेक्का तोडेको तीन वर्षपछि नयाँ आह्वान

अलपत्र दमक–चिसोपानी सडक । तस्बिर : नयाँ पत्रिका

  • चुनावी एजेन्डा मात्रै बनिरहेको झापाको दमकदेखि इलामको पश्चिम–दक्षिणी भेग माङ्सेबुङ जोड्ने सडक बहुवर्षे योजनाअन्तर्गत निर्माण गर्न टेन्डर खुलाइयो, आगामी आर्थिक वर्षबाट निर्माण सुरु हुने

०५६ देखि चुनावी एजेन्डा मात्रै बनिरहेको झापाको दमकदेखि इलामको पश्चिम–दक्षिणी गाउँपालिका माङ्सेबुङस्थित चिसोपानी जोड्ने ३३ किलोमिटरमध्ये २६ किलोमिटर सडक निर्माण गर्न सरकारले शुक्रबार टेन्डर प्रकाशित गरेको छ ।

सडक डिभिजन कार्यालय, दमकका प्रमुख श्यामकुमार यादवले आगामी आर्थिक वर्ष ०८३/८४ बाटै निर्माण सुरु हुने गरी प्रक्रिया अघि बढाएको जानकारी दिए । ‘यो सडक निर्माणका लागि बहुवर्षे ठेक्का आह्वान भएको हो,’ उनले भने । उक्त सडक निर्माणका लागि सरकारले एक अर्ब ६४ करोडको स्रोत सहमति दिएको छ । आगामी आव ०८३/८४ मा १२ करोड बजेटसमेत विनियोजन भएको उनले जानकारी दिए । निर्माण थालनीको तीन दशकसम्म सडक निर्माण हुन नसक्दा यस क्षेत्रका नागरिकले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्नुपरेको छ ।

उक्त सडकखण्डको सम्झौताअनुसार प्रगति नभएपछि कार्यालयले ठेक्का तोकेको थियो, तर ठेकेदार अदालत पुगेका कारण नयाँ टेन्डर प्रकाशन गरेर निर्माणकार्य अघि बढाउन ढिलाइ भएको यादवले बताए । निर्माण व्यवसायी अदालतमा जाँदा ठेक्काको प्रक्रिया लामो समयसम्म अवरुद्ध भएको उनले बताए । जिल्ला अदालत झापाले मध्यस्थतामार्फत टुंगो लगाउन आदेश दिएपछि भने नयाँ प्रक्रिया थालिएको उनको भनाइ छ । ‘अदालतले मध्यस्थता प्रक्रिया अघि बढाउन भनेपछि सडक विभागबाट ठेक्का लगाउन सहमति लिएर नयाँ ठेक्का आह्वान गरिएको हो,’ उनले भने ।

तीन वर्षअघि तोडिएको थियो ठेक्का
दमक–चिसोपानी सडकको ३३ किलोमिटर ट्र्याक चौडा गर्ने र कालोपत्रे गर्ने गरी सडक डिभिजन कार्यालय, दमकले तीन खण्डमा ठेक्का लगाएको थियो । तर, निर्माण कम्पनीले काम गर्न नसकेपछि सडक विभागले दुई खण्डको ठेक्का १३ वैशाख ०८० मा तोडेको थियो । ठेक्का तोडिएको तीन वर्षपछि पुनः नयाँ ठेक्का आह्वान भएको हो । दमक–चिसापानी सडकको दोस्रो र तेस्रो खण्ड गरी २६ किलोमिटर सडक निर्माणको जिम्मा लुम्बिनी–गणपति जेभीले पाएको थियो । दुवै खण्ड एकैपटक ठेक्का लागेको हो । दोस्रो र तेस्रो खण्ड सडक कालोपत्रेको २ फागुन ०७६ मा ठेक्का लागेको थियो । दोस्रो ठेक्का ५४ करोड ४४ लाख ८७ हजार र तेस्रो ठेक्का ५९ करोड १५ लाख ३५ हजारमा लागेको थियो । यो दुई खण्डको म्याद २ फागुन ०७९ मै सकिए पनि ०८० पुससम्म समय थपियो । तर, त्यो अवधिमा दोस्रो खण्डको काम ६२ प्रतिशत र तेस्रो खण्डको काम ३० प्रतिशत मात्र सकिएका कारण ठेक्का तोडिएको थियो ।

पहिलो खण्डमा ८० प्रतिशत काम
दमक–चिसोपानी सडकको पहिलो खण्डको सात किलोमिटरको काम पनि ८० प्रतिशत मात्र भएको सडक डिभिजन दमकका प्रमुख यादवले बताए । पहिलो खण्डअन्तर्गत दमकको प्वाइन्टदेखि सात किलोमिटर सडक निर्माणका ३० महिनाभित्र सक्ने गरी २९ साउन ०७५ मा २२ करोड ५९ लाख ६४ हजारमा ठेक्का लागेको थियो । कालोपत्रेसहितको ठेक्का महालक्ष्मी–किराँतेश्वर जेभीले लिएको थियो । निर्माण कम्पनीले यो खण्डमा अहिले जरिवाना तिरेर काम गरिरहेको छ । यो खण्डको काम असारभित्रै सक्ने समयसीमा दिइएको छ । 

सुझावित समाचार