विशेषज्ञ डाक्टरसहितको निःशुल्क स्वास्थ्य शिविरमा ४१२ जना लाभान्वित

शनिबार, ६ असार, २०८३
डिजिटल संस्करण

मकवानपुरमा आयोजित एकदिने बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट ४१२ जनाले स्वास्थ्य सेवा लिएका छन् । रोटर्याक्ट क्लब अफ मकवानपुर, रोटर्याक्ट क्लब अफ भरतपुर र रोटरी क्लब अफ मकवानपुरको संयुक्त आयोजनामा भएको शिविरमा विशेषज्ञ चिकित्सकमार्फत विभिन्न रोगका बिरामीलाई निःशुल्क परामर्श, परीक्षण तथा उपचार सेवा प्रदान गरिएको हो ।

हेटौँडा उपमहानगरपालिका–९ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिविरमा कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरका विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा दिएको थियो ।

शिविरमा सबैभन्दा बढी नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका बिरामीले सेवा लिएका छन्। उक्त विभागबाट १३२ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श लिएका थिए। त्यसैगरी, जनरल मेडिसिनतर्फ १०७ जना, हाडजोर्नी तथा नसासम्बन्धी समस्याका ८८ जना र स्त्री तथा प्रसूति सेवातर्फ ८५ जनाले सेवा लिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरकी संयोजक सुष्मा बर्तौलाले जानकारी दिइन् ।

विशेषज्ञ चिकित्सकहरू गाउँ तथा समुदायस्तरमै पुगेर सेवा दिएपछि स्थानीयवासी खुसी भएका थिए। सामान्यतया विशेषज्ञ चिकित्सकको सेवा लिन चितवन, काठमाडौं वा अन्य ठुला सहर धाउनुपर्ने बाध्यता रहेको अवस्थामा आफ्नै समुदायमा यस्तो अवसर प्राप्त भएको भन्दै सहभागीहरूले खुसी व्यक्त गरेका थिए ।

आयोजक संस्थाहरूले समुदायस्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताएका छन्। विशेष गरी आर्थिक अवस्था कमजोर भएका नागरिकलाई विशेषज्ञ चिकित्सकसम्म सहज पहुँच पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

शिविरमा स्वास्थ्य परीक्षणका साथै रोग पहिचान, उपचारसम्बन्धी परामर्श र आवश्यक स्वास्थ्य सचेतनासमेत प्रदान गरिएको थियो। चिकित्सकहरूले दीर्घरोग, महिला स्वास्थ्य, हाडजोर्नी तथा इएनटीसम्बन्धी समस्याको समयमै उपचार र नियमित परीक्षणको महत्वबारे जानकारी दिएका थिए ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीले यस्ता कार्यक्रमबाट स्थानीय नागरिकले प्रत्यक्ष लाभ प्राप्त गरेको बताए। उनले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत आवश्यकता भएकाले समुदायस्तरमा सञ्चालन हुने स्वास्थ्य शिविरलाई आगामी दिनमा पनि निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे।

‘विशेषज्ञ चिकित्सकको सेवा सबैको पहुँचमा हुँदैन। यस्ता शिविरले नागरिकलाई प्रत्यक्ष राहत र सुविधा प्रदान गर्छन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन वडा कार्यालय सहयोग गर्न तयार छ,’ उनले भने ।

रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष अमितकुमार सिंहले आगामी दिनमा पनि यस्तै सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। स्थानीय तह, स्वास्थ्य संस्था र सामाजिक संघसंस्थाबिचको सहकार्यमा आयोजित शिविरले समुदायस्तरमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुगेको उनको भनाइ थियो।

सुझावित समाचार