लागुऔषध कारोबार तथा आपूर्तिमा संलग्न गिरोहमाथि निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार शुक्रबार काठमाडौं महानगरपालिका–३२, बालकुमारी पुलमुनि भारतको बासमतियाबाट काठमाडौं उपत्यकासम्म खैरो हेरोइन ल्याएर बिक्री/वितरण गरिरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो। पक्राउ गर्न जाँदा आरोपीहरूले प्रहरीमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेपछि प्रहरीले चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।
प्रहरीका अनुसार चेतावनीपछि पनि नरोकी भागिरहेका पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको हो। गोली लागेर घाइते भएका ओझैयाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
यस घटनामा कैलाली टीकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय नीरजकुमार मण्डल तथा ओझैयासहित तीनजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट तीन सय ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरेको छ।
ब्युरोका अनुसार पक्राउ परेका ओझैया यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना भुक्तान गरेर २०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।