चालू विश्वकपमा अर्जेन्टिनी कप्तान लियोनल मेसी, फ्रान्सका कप्तान केलियन एम्बाप्पे तथा केप भार्डेका गोलरक्षक भोजिन्हाको चर्चा चुलिइरहेको छ । ६ पटक विश्वकप खेलेका मेसीले पहिलोपटक अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए । उनी विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । विश्वकपमा पाका खेलाडीहरूको ह्याट्रिक यस्तो छ ।
लियोनल मेसी (अर्जेन्टिना)
उमेर : ३८ वर्ष ३३५ दिन
विपक्षी : अल्जेरिया, सन् २०२६
विश्वकपमा युवा खेलाडीको प्रदर्शनबिच मेसीले ३८ वर्ष ३५७ दिनमा ह्याट्रिक कीर्तिमान बनाएका छन् । उनी विश्वकपमा पाका खेलाडीका रूपमा ह्याट्रिक गर्ने फुटबलर बनेका छन् । मेसीले पोर्चुगलका कप्तान तथा समकालीन प्रतिस्पर्धी क्रिस्टियानो रोनाल्डोको रेकर्ड तोडेका हुन् । मेसीले समूहको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै रोनाल्डोको रेकर्ड भंग गरेका थिए । फुटबल करिअरमा मेसीले ६१ ह्याट्रिक पूरा गरिसकेका छन् । स्पेनिस क्लब बार्सिलोनाबाट ४८, अर्जेन्टिनाबाट ११ र इन्टर मियामीका लागि दुई ह्याट्रिक उनले गरेका हुन् ।
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)
उमेर : ३३ वर्ष १३० दिन
विपक्षी : स्पेन, सन् २०१८
सन् २०१८ को रुसले आयोजना गरेको विश्वकपमा पोर्चुगलका कप्तान रोनाल्डोले स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए । त्यसवेला रोनाल्डोको उमेर ३३ वर्ष १३० दिन थियो । उनले सन् २०१० को च्याम्पियन स्पेनविरुद्ध ह्याट्रिक गरेका हुन् । उनले पहिलो गोल चौथो मिनेटमा पेनाल्टीमा गरेका थिए । उनले ४४औँ मिनेट र ८८औँ मिनेटमा गोल गर्दै विश्वकपमा ह्याट्रिक पूरा गरे । रोनाल्डोअघि नेदरल्यान्ड्सका रोव रेन्सेनब्रिन्कले सन् १९७८ मा विश्वकपमा ह्याट्रिक गरेका थिए । रोनाल्डोको कीर्तिमान आठ वर्षपछि मेसीले भंग गरे । साउदी क्लब अल नासरबाट खेलिरहेका रोनाल्डोले करिअरमा ६६ ह्याट्रिक गरेका छन् । उनले क्लबमा ५६ तथा पोर्चुगलमा १० ह्याट्रिक गरे । रोनाल्डोले रियल म्याड्रिडबाट ४४, पोर्चुगलबाट १०, अल नासरबाट ६, युभेन्ट्सबाट तीन तथा म्यानचेस्टर युनाइटेडबाट तीन ह्याट्रिक लगाएका छन् ।
रोव रेन्सेनब्रिन्क (नेदरल्यान्ड्स)
उमेर : ३० वर्ष ३३५ दिन
विपक्षी : इरान, सन् १९७८
सन् १९७८ को विश्वकपमा नेदरल्यान्ड्सका रोव रेन्सेनब्रिन्कले इरानविरुद्ध ह्याट्रिक गरेका थिए । अर्जेन्टिनामा भएको विश्वकपमा रोवले इरानविरुद्ध तीन गोल गर्दा दुई पेनाल्टीबाट भयो । उनले ४०औँ मिनेटमा पेनाल्टी, ६२औँ मिनेट र ७९औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यो खेलमा नेदरल्यान्ड्स ३–० ले विजयी भयो । रोवले समूह चरणमा गरेको यो ह्याट्रिक नै करिअरको पहिलो र अन्तिम ह्याट्रिक बन्यो । उनको यो कीर्तिमान रोनाल्डोले सन् २०१८ मा मात्रै भंग
गरेका थिए ।
पेड्रो सेआ (उरुग्वे)
उमेर : २९ वर्ष ३२९
विपक्षी : युगोस्लाभिया, सन् १९३०
घरेलु मैदानमै पहिलोपटक भएको विश्वकपमा उरुग्वेका पेड्रोले ह्याट्रिक गरेका थिए । पेड्रोले २९ वर्ष ३२९ दिनमा युगोस्लाभियाविरुद्ध सेमिफाइनलमा ह्याट्रिक गर्दा उरुग्वे ६–१ ले विजयी भयो । पेड्रोले खेलको तेस्रो, १८औँ, ६७औँ र ७२औँ मिनेटमा गरी चार गोल गरेका थिए । पहिलोपटक भएको विश्वकपमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराउँदै उपाधि जित्यो । पेड्रोले फाइनलमा गोल गर्न सकेनन् । समग्रमा उनले विश्वकपमा पाँच गोल गरेका थिए । सो विश्वकपमा पेड्रो र गुइलेर्मोसँगै अमेरिकाका बर्ट पाटेनौडेले ह्याट्रिक गरेका थिए ।
गाब्रिएला बाटिस्टुटा (अर्जेन्टिना)
उमेर : २९ वर्ष १४० दिन
विपक्षी : जमैका, सन् १९९८
सन् १९९८ मा फ्रान्सले आयोजना गरेको विश्वकपमा अर्जेन्टिनाका बाटिस्टुटाले ह्याट्रिक गरेका थिए । उनले जमैकाविरुद्ध ह्याट्रिक गर्दा २९ वर्ष १४० दिनको उमेर थियो । समूह चरणको खेलमा जमैकाविरुद्ध अर्जेन्टिना ५–० ले विजयी भयो । बाटिस्टुटाले तेस्रो मिनेट, ७३औँ, ७८औँ र ८३औँ मिनेटमा गरी चार गोल गरेका थिए । यसअघि उनले सन् १९९४ को विश्वकपमा पनि ह्याट्रिक गरेका थिए । यसपटक ग्रिसविरुद्ध उनको ह्याट्रिक थियो । बाटिस्टुटा लगातार दुई विश्वकपमा ह्याट्रिक गर्ने एक्ला खेलाडी हुन् । उनले अर्जेन्टिनाबाट ७८ खेलमा ५६ गोल गरेका थिए ।