- पश्चिमी वायु कायमै रहेको र मनसुन आफैँमा कमजोर रहेकाले देशभर फैलन अझै समय लाग्ने, पश्चिम तराईमा अर्को साताभर नै गर्मीको आकलन
औसतभन्दा ६ दिन ढिलो गरी शुक्रबार नेपालमा मनसुनी प्रणाली भित्रिए पनि कोशी प्रदेशको पूर्वी भूभागमै सीमित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन भित्रिने सामान्य (औसत) अवधि १३ जुन रहे पनि यस वर्ष भने औसत मितिभन्दा ६ दिन ढिलो गरी भित्रिएको हो ।
नेपाल भित्रिएको मनसुन प्रणाली हाल कमजोर अवस्थामा रहेकाले देशका अन्य भूभागमा विस्तार हुन अझै केही दिन लाग्ने देखिएको मौसमविद् हरिप्रसाद दाहालले बताए । ‘मनसुन भित्रिए पनि त्यति एक्टिभ (सक्रिय) छैन । मौसम अनुकूल भएर अबको एक सातादेखि १० दिनभित्र मनसुन देशभर कभर भइहाल्यो भने ढिलो भन्न मिल्ने अवस्था छैन,’ उनले भने, ‘तर, पश्चिमी वायु पनि कायमै रहेको र त्यसले पहाडी क्षेत्रमा वर्षा गराइरहेकाले देशभर मनसुन पुग्न कति समय लाग्छ अहिले नै भन्न सकिने अवस्था छैन ।’
मनसुनी वायु दक्षिण–पूर्वबाट पश्चिम बहन्छ भने पश्चिमी वायु पश्चिमबाट पूर्व बहन्छ । ‘मनसुन देशभर फैलनका लागि पश्चिमी वायु कमजोर हुनुपर्छ । पश्चिमी वायु कमजोर बन्दै गएमा मनसुनले विस्थापन गर्नेछ । सामान्यतया पूर्वी नेपालमा मनसुन प्रवेश गरेको एक सातामा देशभर फैलने हुन्छ । तर, पश्चिमी वायु कायमै रहेकाले मौसम पूर्वानुमान महाशाखाले यकिन भनिसकेको छैन । दक्षिण एसियाली मनसुन नेपालमा चार महिना रहन्छ । पोहोर सरदरभन्दा दुई साताअघि १६ जेठमै मनसुन भित्रिएको थियो । तर, देशभर विस्तार हुन भने २० दिन लागेको थियो । यसपालिको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने आकलन छ ।
कोशीदेखि गण्डकीसम्म वर्षाको सम्भावना, पश्चिम तराईमा अर्को साता पनि गर्मी नै
आगामी साता कोशीदेखि गण्डकीसम्मको क्षेत्रमा वर्षाको सम्भावना छ । तर, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रको तातो हावाको लहर भने आगामी साता पनि कायमै रहने देखिन्छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोशीमा बिहीबारसम्म पानी पर्ने देखिन्छ । त्यहाँ आइतबारभित्र केही ठाउँमा ठुलो पानी पर्ने आकलन पनि छ । त्यस्तै, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आइतबारसम्म मध्यम तथा बुधबार र बिहीबार थोरै ठाउँमा पानी पर्ने देखिन्छ ।
पहाडी क्षेत्रको अवस्था हेर्दा कोशी, बागमती, गण्डकीका केही ठाउँ र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा आगामी सातासम्म पानी पर्ने देखिन्छ । तर, आगामी आइतबार भने कोशीका तराई भूभागका केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई भूभागमा एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशीका पहाडी क्षेत्रसँगै तराईका एक–दुई स्थानमा ठुलो वर्षाको समेत आकलन छ ।
एल–निनो भएको वर्ष कम परेको छ नेपालमा पानी, यी हुन् १० सुक्खा बर्खा
इतिहासकै कम वर्षा भएका १० मनसुनी अवधिमध्ये ६ वटा पछिल्ला डेढ दशकभित्र एल–निनो अर्थात् मनसुनी अवधिमा प्रशान्त महासागरको सरदर तापक्रम बढी भएको वर्ष नेपालमा पनि पानी कम परेको तथ्यांक छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा कम वर्षा भएका १० वटा बर्खा (मनसुन)मा एल–निनो भएका पाँचवटा छन् । जसमा सन् २०२३, २०१५, २००९, १९९२ र १९८२ रहेका छन् । कम वर्षामा सन् २००९ यताकै ६ बर्खा छन् ।
प्राप्त तथ्यांकअनुसार मनसुन अवधि (जुन–सेप्टेम्बर) मा सन् २०१५ मा इतिहासकै सबैभन्दा कम एक हजार १६९ मिलिमिटर मात्र वर्षा रेकर्ड भएको थियो । यो वर्ष प्रशान्त महासागरमा एल–निनो चक्र सक्रिय रहेको थियो । नेपालमा मनसुन ऋतुमा औसत एक हजार ३८२ मिलिमिटर वर्षा हुने गर्छ ।
सबैभन्दा कम वर्षा भएका वर्षको सूचीमा सन् १९९२ दोस्रो स्थानमा रहेको छ, त्यतिखेर एक हजार १७१.३ मिलिमिटर वर्षा भएको थियो । त्यसपछि २००६ मा एक हजार १७६.६ मिलिमिटर, २००५ मा एक हजार १७८.३ मिलिमिटर, २००९ मा एक हजार २२१.८ मिलिमिटर, २०२५ मा एक हजार २६२.५ मिलिमिटर, १९८२ मा एक हजार २८१. ८ मिलिमिटर, २०२३ मा एक हजार २८७.७ मिलिमिटर, २०१४ मा एक हाजर २८९.६ मिलिमिटर र २०१२ मा एक हजार २९७.३ मिलिमिटर मात्र वर्षा रेकर्ड छ । विशेषगरी सन् २००९, २०१२, २०१४, २०१५, २०२३ र २०२५ हालैका वर्ष लगातार कम वर्षाको सूचीमा छन् ।
जलवायुविद्हरूका अनुसार जलवायु परिवर्तनका कारण वर्षाको वितरण, समय र तीव्रतामा परिवर्तन भइरहेको छ । मनसुन कमजोर हुँदा कृषि उत्पादन, खानेपानी आपूर्ति, जलविद्युत् उत्पादन तथा समग्र जलस्रोत व्यवस्थापनमा प्रत्यक्ष असर पर्छ । कृषि र वर्षामुखी अर्थतन्त्र भएको मुलुकका लागि बढ्दो सुक्खापन केवल मौसमीय घटना नभई खाद्य सुरक्षा, ऊर्जा सुरक्षा र आर्थिक स्थायित्वसँग जोडिएको दीर्घकालीन चुनौतीका रूपमा उभिएको छ ।