औसतभन्दा ६ दिन ढिलो भित्रियो मनसुन, कोशीका केही भूभागमा मात्र प्रभाव

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

नेपालमा यस वर्षको मनसुन प्रणाली शुक्रबार भित्रिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार औसतभन्दा ६ दिन ढिलो गरी मनसुन नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको हो।

महाशाखाले बुलेटिन जारी गर्दै मनसुन प्रणाली कोशी प्रदेशका केही भूभागमा प्रवेश गरेको पुष्टि गरेको छ। नेपालमा मनसुन भित्रिने सामान्य (औसत) जुन १३ तारिख रहे पनि यस वर्ष भने औसत मितिभन्दा ६ दिन ढिलो गरी भित्रिएको हो।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपाल भित्रिएको मनसुन प्रणाली हाल कमजोर अवस्थामा छ। यसका कारण देशका अन्य भूभागमा मनसुन विस्तार हुन अझै केही दिन लाग्ने देखिन्छ।

विभागद्वारा सार्वजनिक गरिएको नक्सामा कोशी प्रदेशको पूर्वी सीमावर्ती र केही हिमाली, पहाडी क्षेत्र (नीलो रङले जनाइएको भाग)मा मात्र हाल मनसुनको प्रभाव सुरु भएको देखिन्छ।

मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको जनाएको छ। मौसममा हुने फेरबदल र मनसुन देशव्यापी रूपमा फैलिने क्रमबारे महाशाखाले नियमित रूपमा आफ्नो बुलेटिन अद्यावधिक गर्दै जानेछ।

महाशाखाले सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आगामी मौसमको जानकारीका लागि नियमित रूपमा जारी हुने तीनदिने मौसम बुलेटिन हेर्न र मौसमसम्बन्धी अद्यावधिक सूचनाको जानकारी लिइरहन अनुरोध गरेको छ।

सुझावित समाचार