सिंहदरबारमा बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउने को हुन् ? : सांसद बुढा

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले विधिको शासनबाहिर गएर सिंहदरबारमा अदृश्य बसेर अख्तियारलाई थर्काउने र हुकुम चलाउने गिरोह को हुन् ? भनेर प्रश्न गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बुढाले सिंहदरबारमा अदृश्य गिरोहमार्फत जंगलराज सञ्चालन भइरहेको आरोप लगाए। उनले  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित अधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब नौ घण्टासम्म राखेर दबाब सिर्जना गरिएको तथा विशेष व्यक्तिविरुद्ध पक्राउ पुर्जी जारी गर्न निर्देशन दिइएको भन्ने आरोप सार्वजनिक भएको उल्लेख गर्दै संवैधानिक पदमाथि यो तहको हुकुम पञ्चायती व्यवस्थामा भन्दा पनि निर्मम भएको बताए ।  उनले अख्तियार मात्र नभई विदेशी राजदूतमाथि समेत प्रधानमन्त्री कार्यालयमा दुर्व्यवहार भएको आरोप लगाए । 

बुढाले अख्तियारले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दै भ्रष्टाचारका जुनसुकै घटनामाथि निष्पक्ष छानबिन गर्नुपर्ने बताए। ‘भ्रष्टाचार गर्ने, सार्वजनिक पदको दुरुपयोग गर्ने जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्छ। कांग्रेस, अन्य दलका नेता, पूर्वप्रधानमन्त्री वा वर्तमान प्रधानमन्त्री नै किन नहोस्, दोषीलाई कारबाही हुनुपर्छ,’ उनले भने।

उनले लोकतान्त्रिक व्यवस्थामा परिणाम मात्र होइन, प्रक्रिया पनि कानुनसम्मत र विधिसम्मत हुनुपर्नेमा जोड दिए। सरकारको कथित स्वेच्छाचारिताले देश स्तब्ध बनेको उनको भनाइ थियो। सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रधानमन्त्री कार्यालयमातहतको सतर्कता केन्द्र नभई संवैधानिक अंग भएको उल्लेख गर्दै यसको प्रमुख जिम्मेवारी आवश्यक पर्दा सरकारमाथि नै निगरानी राखेर राज्यसत्तामा ‘चेक एन्ड ब्यालेन्स’ कायम गर्नु रहेको बताए।

‘अख्तियार कसैको गोजीको संस्था होइन। यदि प्रधानमन्त्री कार्यालयले अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउन सक्छ भने भोलि प्रधानमन्त्रीले नै गल्ती गर्दा कसले छानबिन गर्ने ?’ उनले प्रश्न गरे। उनले निर्णय गर्ने औपचारिक निकायभन्दा बाहिरबाट प्रभाव पार्ने शक्तिहरू सक्रिय रहेको आशंका व्यक्त गर्दै लोकतन्त्र संस्थाले चल्ने कि व्यक्तिले चल्ने भन्ने गम्भीर प्रश्नसमेत उठाए।

सुझावित समाचार