वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीलाई ३ प्रश्न

शुक्रबार, ५ असार, २०८३
डिजिटल संस्करण

साउदी अरेबियाले नेपाली श्रमिकका लागि सिप प्रमाणीकरण कार्यक्रम लागू गर्न खोज्नु कति उपयुक्त हो ?
रोजगारीका लागि साउदी जाने कामदारलाई सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने भनेर काठमाडौंमा कार्यालय खुलेको छ । वैदेशिक रोजगार व्यवसायी संघ हाम्रा श्रमिकलाई आर्थिक भार पर्ने कुनै पनि काम गर्नुहुँदैन भन्ने कुरामा सचेत छ । यसरी श्रमिकलाई थप आर्थिक भार पर्ने कुनै पनि निर्णय नगर्न हामी निरन्तर दबाब दिन्छौँ र दिइरहेका पनि छौँ ।

सरकारले त यो विषयमा थाहै नभएको बताइरहेको छ नि ?
सरकारलाई थाहा नभए कुनै सरकारी निकायबाट अनुमति नलिई यस्ता कार्यालय कसरी खुले ? यो प्रश्न हामी सबैको मनमा उठिरहेको छ । मन्त्रालयसँग सिप प्रमाणीकरण कार्यक्रमका लागि केकस्ता मापदण्ड ताकेर लागू गर्न खोजिएको हो भनेर हामीले जिज्ञासा राखेका थियौँ । तर, मन्त्रालयबाट यसबारे अहिलेसम्म आफूहरूलाई केही थाहा नभएको, कसैलाई पनि कार्यालय खोल्न अनुमति नै नदिएको र मापदण्ड तोक्ने गरी कुनै कार्यविधि वा नियमसमेत नबनाएको भनेर जानकारी आएको छ । 

साउदीले त यो कार्यक्रम लागू गरिछाड्ने संकेत देखाएको छ नि ?
नेपाली श्रमिकलाई आर्थिक भार पर्ने काम गर्न सरकारले पनि स्वीकृति दिन्छ जस्तो हामीलाई लाग्दैन । यो नियमले म्यानपावर व्यवसायीलाई त केही असर गर्दैन । आर्थिक भार सोझै श्रमिकमाथि नै पर्ने हो । तैपनि, हामी नेपाली श्रमिकको हितमा खटिनेछौँ र यो व्यवस्था हटाउन निरन्तर दबाब दिनेछौँ । 

सुझावित समाचार