२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ को पहिलो चरणका खेल सकिएका छन् । समूह चरणको अन्तिम खेलमा बिहीबार बिहान कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले हरायो । सहभागी ४८ राष्ट्रबिच पहिलो चरणमा २४ खेल भएका छन् । बिबिसीका खेलविज्ञले २४औँ खेलपछि सार्वजनिक गरेको वरीयता यस्तो छ ।
१. फ्रान्स : एम्बाप्पेको दुई गोलको सहयोगमा फ्रान्सले सेनेगललाई ३–१ ले हरायो । सबैले अनुमान गरेझैँ एम्बाप्पेले प्रेरणादायी खेल प्रस्तुत गरे । फ्रान्सले हरेक पोसेसनमा बलिया खेलाडी राखेको थियो ।
२. इंग्ल्यान्ड : कप्तान केनको अक्रामक खेल झेल्न नसक्दा क्रोएसिया इंग्ल्यान्डसँग ४–२ ले पराजित भयो । पहिलो खेलमा इंग्ल्यान्डले रक्षापंक्तिमा केही सुधार गरेको थियो ।
३. अर्जेन्टिना : कप्तान मेसीले पुनः एकपटक जादुमयी खेल देखाउँदा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले हरायो । विश्वकपमा पहिलो ह्याट्रिक गरेका मेसीको प्रदर्शनपछि टोलीको मनोबल उच्च छ ।
४. जर्मनी : जर्मनीले नवप्रवेशी कुराकाओलाई ७–१ ले पाखा लगायो । कुराकाओ निकै कमजोर प्रतिद्वन्द्वी पाउँदा जर्मनीले एकपक्षीय जित निकाल्यो ।
५. अमेरिका : आयोजक अमेरिकाले आफ्नो पहिलो खेलमा छिमेकी पाराग्वेलाई ४–१ ले पराजित गर्यो । अमेरिकाले यसपटक घरेलु मैदान र दर्शकको साथ पाएको छ ।
६. नर्वे : सन् १९८६ पछि विश्वकपमा स्थान बनाएको इराक नर्वेसँग ४–१ ले निराश भयो । यस खेलमा इंग्लिस प्रिमियर लिगका उत्कृष्ट खेलाडी एर्लिङ हालान्डले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
७. कोलम्बिया : दक्षिण अमेरिकी राष्ट्र कोलम्बियाले एसियाबाट विश्वकपमा डेब्यु गरेको उज्वेकिस्तानलाई ३–१ ले हरायो । उज्वेकिस्तानका लुइस डियाजले सबै क्षेत्रमा कमान्ड संहाले ।
८. मोरक्को : पाँचपटकको विजेता ब्राजिलविरुद्ध मोरक्कोको सानदार खेल भयो । उसले ब्राजिललाई १–१ को बराबरीमा रोक्यो । सुरुको २० मिनेट ब्राजिलविरुद्ध हाबी थियो ।
९. ब्राजिल : विश्वकपमा लगातार सहभागी एक मात्र राष्ट्र ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी सोचेको थिएन । ब्राजिलले सुरुमा कमजोर प्रदर्शन गरे पनि अनुभवी खेलाडीले हार टारे ।
१०. स्विडेन : स्विडेनले अफ्रिकी राष्ट्र ट्युनिसियालाई ५–१ ले हरायो । टयुनिसियाविरुद्ध इंग्लिस प्रिमियर लिगका स्ट्राइकरको साथ स्विडेनले पाएको थियो ।
११. अस्ट्रेलिया : अस्ट्रेलियाले युरोपकै बलियो राष्ट्र टर्कीलाई २–० ले हरायो । धेरैको टर्कीले अस्ट्रेलियालाई हराउने अनुमान थियो । एसियन राष्ट्र अस्ट्रेलियाले अनुमानविपरीत नतिजा निकाल्यो ।
१२. स्पेन : विश्वकपमा पहिलोपटक सहभागी केप भार्डेविरुद्ध पूर्वविजेता स्पेनले खराब खेल्यो । भार्डेका गोलरक्षकका अगाडि स्पेनको केही चलेन । उनले स्पेनका गोल हुने सात प्रहार छेकेका थिए ।
१३. नेदरल्यान्ड्स : विश्वकपकै अनुभवी नेदरल्यान्ड्सले जापानसँग २–२ को बराबरी खेल्दै अंक बाँड्यो । प्रतिस्पर्धामा नेदरल्यान्ड्सभन्दा जापानको मिडफिल्ड र फिनिसिङ राम्रो थियो ।
१४. मेक्सिको : दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले हरायो । विश्वकपकै उद्घाटन खेलमा तीन रातो कार्ड देखाइएको थियो । जुन खराब रेकर्ड बन्यो ।
१५. जापान : नेदरल्यान्ड्सजस्तो शक्तिशाली टोलीविरुद्ध जापानले बहादुरी प्रदर्शन गर्यो । विश्वकपकै डार्क हर्स उपनाम पाएको जापानले त्यहीअनुरूप खेल्यो ।
१६. स्कटल्यान्ड : स्कटल्यान्डले २८ वर्षपछि विश्वकपमा पहिलो जित निकाल्दा हैटी १–० ले पराजित भयो । नतिजा आफ्नो पक्षमा आए पनि स्कटल्यान्डको प्रदर्शन राम्रो भने थिएन ।
१७. केप भार्डे : विश्वकपमा पहिलोपटक सहभागी भए पनि भार्डेले स्पेनविरुद्ध ऐतिहासिक प्रदर्शन गर्यो । स्पेनलाई १–१ को बराबरीमा रोके पनि भार्डेको प्रदर्शन जितबराबर नै थियो ।
१८. बेल्जियम : अफ्रिकी राष्ट्र इजिप्टसँग बराबरी नतिजा निकाल्न बेल्जियमले आत्मघाती गोलको सहयोग पाएको थियो । बेल्जियमको फिनिसिङ कमजोर देखिएको थियो ।
१९. इजिप्ट : मोहमद सालेहको साथ पाएको इजिप्टले बेल्जियमविरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो । तर, आत्मघाती गोलका कारण इजिप्ट पहिलो जितबाट वञ्चित भयो ।
२०. सेनेगल : २४ वर्षअघिको इतिहास दोहोर्याउन सेनेगल असमर्थ भयो । फ्रान्सले सन् २००२ को बदला लिँदै सेनेगललाई ३–१ ले हराउँदा कप्तान एम्बाप्पेले दुई गोल गरेका थिए ।
२१. पोर्चुगल : कप्तान क्रिस्टियानो रोनाल्डो चल्न नसक्दा पोर्चुगलले विश्वकपमा ५२ वर्षपछि प्रतिस्पर्धा गरेको कंगोविरुद्ध १–१ को बराबरी खेल्यो । पोर्चुगलले धेरै सुधार गर्नुपर्ने देखिन्छ ।
२२. क्रोएसिया : क्रोएसियाले इंग्ल्यान्डविरुद्ध आफ्नो आक्रामक शक्ति प्रस्तुत गरेको थियो । तर, क्रोएसियाले इंग्ल्यान्डलाई रोक्न सकेन । क्रोएसिया ४–२ ले हार्यो ।
२३. कंगो : विश्वकपको दाबेदार पोर्चुगलविरुद्ध कंगोले उत्कृष्ट खेल खेल्यो । डिफेन्स लाइन बलियो बनाएको कंगोले एक अवसरमा गोल गर्दै पोर्चुगललाई बराबरीमा रोक्न सफल भयो ।
२४. स्विट्जरल्यान्ड : दोस्रोपटक सहभागी कतारविरुद्ध स्विट्जरल्यान्डले खराब खेल्यो । स्विटजरल्यान्डले आक्रामक खेले पनि १–१ को बराबरी नतिजा निकाल्यो ।
२५. न्युजिल्यान्ड : न्युजिल्यान्डले इरानसँगको खेलमा केही बिगारेको थिएन । तर, मिडफिल्ड बलियो नहुँदा न्युजिल्यान्ड एसियन राष्ट्र इरानसँग २–२ को बराबरीमा रोकियो ।
२६. इरान : न्युजिल्यान्डविरुद्ध मिडफिल्ड र फिनिसिङ लाइन बलियो बनाएको इरानले बराबरी नतिजामै चित्त बुझायो । इरानले आगामी खेलमा थप मिहिनेत गर्नुपर्छ।
२७. साउदी अरेबिया : दुईपटकको विजेता उरुग्वेविरुद्ध साउदी अरेबियाले अंक खोस्न सफल भयो । काउन्टर एट्याक्टमा गोल गरी साउदीले उरुग्वेलाई १–१ मा रोकेको हो ।
२८. हैटी : स्कटल्यान्डसँगको खेलमा हैटीले बलियो डिफेन्स रणनीति बनाएको थियो । तर, हैटीले अन्तिमसम्म यसलाई रक्षा गर्न सकेन । १–० ले हारेको खेलमा हैटी बलियो नै थियो ।
२९. द. कोरिया : सुरुवातमा समस्या झेलेको दक्षिण कोरियाले खेलमा सुधार गरी चेक रिपब्लिकलाई २–१ ले पाखा हरायो । अझै पनि कोरियाले फिनिसिङमा सुधार गर्नुपर्छ ।
३०. उरुग्वे : साउदी अरेबियाविरुद्ध २८ सट प्रहार गरेको उरुग्वेको फिनिसिङ कमजोर देखिएको छ । यस पक्षमा फितलो प्रदर्शन हुँदा उरुग्वे १–१ मा रोकिएको हो ।
३१. टर्की : अस्ट्रेलियाविरुद्ध ७० प्रतिशत बल पोसेसन बनाएको टर्कीले खेलमा २–० को हार सामना गर्यो । टर्कीले अझै फिनिसिङ लाइन बलियो बनाउनुपर्ने देखिन्छ ।
३२. अस्ट्रिया : विश्वकपमा पहिलोपटक सहभागी जोर्डनविरुद्ध अस्ट्रियाको प्रदर्शन ठिकै रह्यो । ३–१ ले जित निकालेको अस्ट्रियाले डिफेन्स बलियो बनाउनुपर्छ ।
३३. आइभरी कोस्ट : दक्षिण अमेरिकी राष्ट्र इक्वेडरलाई हराउन आइभरी कोस्टले धेरै मिहिनेत गरेको थियो । यस टोलीको मिडफिल्डमा सुधार हुनुपर्छ ।
३४. घाना : अफ्रिकी राष्ट्र घानालाई कमजोर भनियो । तर, खेलमा उसले पानामालाई १–० ले हराउँदै सनसनी मच्चायो । खेलको ९५औँ मिनेटमा घानाले गोल गरेको थियो ।
३५. अल्जेरिया : अर्जेन्टिनासँगको खेलमा अल्जेरियाको केही चलेन । ३–० ले पराजित भएको खेलमा अल्जेरियाले सबै पक्षमा कमजोर प्रदर्शन गर्यो ।
३६. जोर्डन : अस्ट्रियासँग ३–१ ले पराजित भएको जोर्डनको यो पहिलो विश्वकप हो । जोर्डनले आक्रामक खेललाई सुधार गर्नुपर्छ ।
३७. बोस्निया हर्जगोभिना : सहआयोजक राष्ट्र क्यानडासँगको खेलमा १–१ को बराबरी निकालेको बोस्नियाले डिफेन्स बलियो बनाएको थियो ।
३८. क्यानडा : पहिलोपटक सहआयोजक राष्ट्र क्यानडाले बोनिसासँग त्यति राम्रो खेल्न सकेन । काउन्टरमा गोल गर्ने रणनीति उसको असफल भयो ।
३९. इराक : नर्वेका स्ट्राइकर हाल्यान्ड छाएको प्रतिस्पर्धामा इराक सबै पक्षमा कमजोर भयो । हाल्यान्डले इराकको डिफेन्स कमजोर पारेका थिए ।
४०. इक्वेडर : इक्वेडरलाई दक्षिण अमेरिकीको डार्क हर्स भनिएको छ । तर, उसले आइभरी कोस्टविरुद्ध सोचेजस्तो खेल देखाएन । खेलमा इक्वेडर १–० ले पराजित भयो ।
४१. चेक रिपब्लिक : चेक रिपब्लिक युरोपकै बलियो राष्ट्रमा पर्छ । तर, दक्षिण कोरियासँग २–१ को हार सामना गरेको चेकले अझै डिफेन्समा सुधार गर्नुपर्ने देखिन्छ ।
४२. उज्वेकिस्तान : पहिलोपटक विश्वकपमा सहभागी उज्वेकिस्तानले कोलम्बियासँग ३–१ को हार नतिजा निकाल्यो । तर, उज्वेकिस्तानले प्रभावशाली खेल प्रदर्शन गरेको थियो ।
४३. द. अफ्रिका : दोस्रोपटक विश्वकपमा सहभागी दक्षिण अफ्रिका मेक्सिकोबाट २–० ले पराजित भयो । अफ्रिकाले प्राप्त अवसरमा गोल गर्न सकेन ।
४४. कतार : चार वर्षअघि पहिलो चरणबाट बाहिरिएको कतारले दोस्रो सहभागिताको पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्यो । कतारले स्विट्जरल्यान्डलाई १–१ मा रोक्यो ।
४५. पाराग्वे : आयोजक राष्ट्र अमेरिकासँग पाराग्वेको फितलो प्रदर्शन भयो । अमेरिकाले पाराग्वेको डिफेन्स सहजै तोडेको थियो ।
४६. ट्युनिसिया : ट्युनिसियाले स्विडेनसँग फितलो डिफेन्स रणनीति अपनाएको थियो । जसका कारण स्विडेनले खेलमा ५–१ ले बाजी मारेको हो ।
४७. पानामा : खेलको अन्तिम समयमा संहालिन नसक्दा पानामा घानासँग १–० ले स्तब्ध भयो । पानामा ९५औँ मिनेटमा एक गोलले पछि परेको हो ।
४८. कुराकाओ : विश्वकपको पहिलो सहभागितामै कुराकाओले जर्मनीबाट नराम्रोसँग हार सामना गर्यो । खेलको सबै क्षेत्रमा कमजोर हुँदा जर्मनीले कुराकाओलाई ७–१ ले हरायो ।