वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा दरबन्दीअनुसार अधिकृतको अभाव भएपछि खरिदारले जिम्मेवारी सम्हाल्दै आएका छन्। क्याम्पसका केही कर्मचारीहरूको सरुवा तथा अवकाश भएपछि खरिदारसरहका कर्मचारी शाखा अधिकृतको जिम्मेवारीमा छन्।
जेठ १९ गते सामान्य तथा भण्डार शाखा प्रमख गीता श्रेष्ठको अवकाश भएपछि उक्त शाखाको जिम्मेवारी खरिदार जयप्रकाश साहलाई दिइएको छ। परीक्षा शाखाका प्रमुख रहमान हवारी करिब दुई महिनाअघि विराटनगर सरुवा भएपछि सो शाखामा अस्थायीसरह कार्यरत रहेका मनोहर साहलाई जिम्मेवारी तोकिएको क्याम्पसले जनाएको छ।
क्याम्पसका लेखा प्रमुख गुन्जन सिंह पनि दुई महिना अगाडि विराटनगर सरुवा भए। सो शाखाको जिम्मेवारी खरिदार अवधकिशोर साहले पाएका छन्। जेठ १९ सम्म यो शाखाको जिम्मेवारीमा नायबसुब्बा रूपा झा थिइन्।
त्यस्तै शिक्षाशास्त्र प्रशासन प्रमुखको जिम्मेवारीमा अहिले ल्याब असिस्टेन्ट रामचन्द्र कलवार कार्यरत छन्। उनी पनि केही महिनादेखि यो शाखा रेखदेख गरिरहेको कर्मचारी स्रोतले जनाएको छ। क्याम्पसमा शैक्षिक बेथितिदेखि विभिन्न आर्थिक अनियमिततामा पटकपटक विवाद हुने गरेकाले त्रिभुवन विश्वविद्यालयले कर्मचारी नपठाएको कर्मचारीहरू बताउँछन्।
यसअघिका क्याम्पस प्रमुखहरूले पनि दरबन्दी थप्न र कर्मचारी बढाउन माग गरे पनि अहिलेसम्म पूरा भएको छैन। क्याम्पसका प्रमुख डा. केशव यादव यति ठुलोमा क्याम्पसमा कर्मचारी थप्नु अति आवश्यक रहेको बताउँछन्। अहिले क्याम्पसमा कर्मचारी अभाव भएकाले दरबन्दी थप गर्न कर्मचारी नियुक्ति गर्न केन्द्रमा पनि पत्राचार गर्ने तयारी भइरहेको उनले बताए।