कोलम्बिया, घाना र इंग्ल्यान्डको जित

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

फिफा विश्वकप २०२६ अन्तर्गत बिहीबार बिहान भएको खेलमा कोलम्बिया, घाना र इंग्ल्यान्ड विजयी भएका छन् । कोलम्बियाले पहिलोपटक विश्वकप खेलिरहेको एसियाली मुलुक उज्वेकिस्तानलाई ३–१ ले हरायो । मेक्सिको सिटीमा कोलम्बियाको जितमा लुइस डिआज, डानियल मुनोज र जामिन्टन  काम्पाजले समान एक गोल गरे ।

उज्वेकिस्तानका लागि अबोस्बेक फायजुलाइभले एक गोल फर्काएका हुन् । २२ वर्षीय खेलाडी ६१औँ मिनेटमा गोल गर्दै उज्वेकिस्तानलाई बराबरीमा ल्याएपछि डिआजले २–१ को अग्रता बनाएका थिए । 

अबोस्बेक उज्वेकिस्तानबाट विश्वकपमा गोल गर्ने पहिलो खेलाडीसमेत बने । कोलम्बियाका लागि तेस्रो गोल इन्जुरी समयमा काम्पाजले गरेका थिए ।योसँगै समूह ‘के’मा कोलम्बोले महत्त्वपूर्ण तीन अंक हासिल गर्दै क्वार्टरफाइनल सम्भावना बलियो बनायो । उज्वेकिस्तानले भने डेब्यु विश्वकप हारबाट सुरु गरेकाे छ ।

राति नै भएको समूहको अर्काे खेलमा १–१ को बराबरी खेलेका पोर्चुगल र डिआर कंगोले समान एक अंक जोडेका छन् । क्यानडाको टोरेन्टोमा भएको खेलमा घानाले पानामालाई १–० ले हरायो । खेलको इन्जुरी समयमा घानाका कालेव यिरेन्क्यीले गरेको गोल नै निर्णायक बन्यो ।

समूह ‘एल’कै अर्काे खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ ले हरायो ।इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले दुई गोल गरे । जुड वेलिंघम र मार्काेस रसफोर्डले समान एक गोल गरेका छन् । दुई गोलसँगै केनले फिफा विश्वकपमा आफ्नो गोलसंख्या १० पुर्याए ।

जितपछि इंग्ल्यान्ड र घानाको सामान तीन अंक छ । गोलअन्तरमा अघि रहँदा इंग्ल्यान्ड शीर्ष स्थानमा रह्यो । पानामा र क्रोएसियाले भने पहिलो खेलमा अंक जोड्न सकेनन् ।

सुझावित समाचार